उच्च हिमाली क्षेत्रमा भारी हिमपात : मुक्तिनाथ वरपर यात्रा स्थगित गर्न आग्रह

1.3K

उच्च हिमाली क्षेत्रमा भारी हिमपात : मुक्तिनाथ वरपर यात्रा स्थगित गर्न आग्रह

पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली रहेको छ । यसको प्रभाव गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका उच्च हिमाली क्षेत्रमा बढी देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा मध्यमदेखि भारी हिमपात र वर्षा जारी रहन सक्ने सम्भावना छ ।
गयराती मुस्ताङको मुक्तिनाथ मन्दिर वरपरका क्षेत्रमा हिमपात भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेको र मौसम अझ बिग्रन सक्ने सम्भावना भएकाले यात्रामा ननिस्किन पदयात्री र पर्यटकलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, ५,८०० मिटर उचाइको याकखर्क, ५,४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्ला पास, ६,००० मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास तथा मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने अनुमान गरिएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने विभागले जनाएको छ ।
महाशाखाले हिमपात र वर्षाका कारण जनजीवन, यातायात, कृषि र पर्यटन गतिविधिमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।