चक्रवात ‘मोन्था’को प्रभाव : शुक्रबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना

1.3K

चक्रवात ‘मोन्था’को प्रभाव : शुक्रबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा रहेको छ । उक्त प्रणालीको प्रभावका कारण नेपालको मौसम कार्तिक १४ गते शुक्रबार साँझसम्म प्रभावित रहने र त्यसपश्चात क्रमिक रूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । त्यसका कारण हाल देशभर साधारणदेखि अधिकांश स्थानमा बदली रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने भएकाले दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन, सडक र हवाई यातायातमा असर पर्न सक्ने चेतावनी दिइएको छ ।
विभागले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।