अन्तरिम सरकार अवैधानिक : महामन्त्री सिंह

1.3K

अन्तरिम सरकार अवैधानिक : महामन्त्री सिंह

ने.क.पा. (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताबारे कडा चेतावनी दिँदै अन्तरिम सरकारको वैधानिकता प्रश्न उठाउनु भएकाे छ । उहाँले जनतासँग इमानदार र निष्कलङ्क नेतृत्व रोज्न आग्रह गर्नुभयाे ।
प्रगतिशिल पत्रकार संघले शुक्रबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा लिखित अभिव्यक्ति राख्दै महामन्त्री सिंहले देश अहिले गम्भीर राजनीतिक संकटको अवस्थामा रहेको बताउनु भयाे । उहाँले प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो संकटमा धकेलेको बताउनु भयाे ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले पार्टी केन्द्रीय समितिको हालै सम्पन्न बैठकका निष्कर्ष सार्वजनिक गर्दै भन्नुभयाे-“देशमा फैलिएको भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धले जनतामा असन्तोषको विस्फोट निम्त्याएको छ ।”
सिंहले भाद्र २३ गतेको जेनजी आन्दोलनमाथि सरकारले गरेको बल प्रयोगलाई “नरसंहार”काे शंज्ञा दिनुभयाे । उहाँले भन्नुभयाे- “ओली सरकारले शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर जनतालाई दमन गरेको छ, त्यसको निष्पक्ष छानविन र कारबाही आवश्यक छ ।”
उहाँका अनुसार आन्दोलनमा घुसपैठ गरेर २४ गते भएका आगलागी र तोडफोडका कार्यहरू जेनजी आन्दोलनका युवाहरूले होइन, बाह्य तत्त्वहरूले गराएका हुन् । उहाँले बुटवल, प्युठान, अर्घाखाँची र सुर्खेतस्थित राष्ट्रिय जनमोर्चाका कार्यालयमाथि भएको आक्रमणलाई पनि “पूर्वनियोजित षड्यन्त्र” भन्नुभयाे ।
सिंहले जेनजी आन्दोलन र अन्तरिम सरकारका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको आरोप लगाउनु भयाे । उहाँले भन्नुभयाे-“अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिमा तान्ने र चीनविरुद्ध रणनीति अघि बढाउने प्रयास गरिरहेको छ।”
उहाँले दलाइ लामाको वक्तव्यलाई समेत त्यसको प्रमाणको रूपमा व्याख्या गर्नुभयाे ।
सिंहले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) प्रणाली ल्याउने सोचलाई “अधिनायकवादको ढोका खोल्ने” साेंचका रुपमा व्याख्या गर्नुभयाे । उहाँका अनुसार, “नेपाल जस्तो देशमा त्यस्तो प्रणालीले प्रजातन्त्र र राष्ट्रियता दुवैलाई खतरा पुर्‍याउँछ।”
राजनीतिमा पुस्तान्तरणको प्रश्नमा सिंहले उमेरलाई मात्र आधार बनाउने सोच गलत भएको बताउनु भयाे । “नेतृत्वका लागि उमेर होइन, सोच, दृष्टि र इमान्दारिता नै मुख्य मापदण्ड हुनुपर्छ,” उहाँले भन्नुभयाे ।
सिंहले देशमा फैलिएको भ्रष्टाचारलाई प्रमुख चुनौती बताउँदै भन्नुभयाे-“देशको विकास तब मात्र सम्भव छ, जब भ्रष्टाचार नगर्ने, निष्कलङ्क छविका नेताहरू विजयी हुन्छन् । पुरानो वा नयाँ दलको होइन, इमान्दार नेताको समर्थन हुनुपर्छ ।”
महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चालाई इमानदार र निष्कलङ्क पार्टीको रूपमा प्रस्तुत गर्नुभयाे । उहाँले भन्नुभयाे-“जबसम्म भ्रष्ट तत्त्वहरू पैसा बाँडेर चुनाव जित्ने प्रवृत्ति अन्त्य हुँदैन, तबसम्म देशको विकास सम्भव छैन ।”