रुपन्देहीको सैनामैना नगरपालिका–११ का सुगम रेग्मी आज “इको दोस्ती नेपाल” का संस्थापकका रूपमा चिनिनु हुन्छ । तर यो स्थानसम्म पुग्नु उहाँका लागि सजिलो यात्रा थिएन । वातावरणप्रतिको जिम्मेवारी, आत्मविश्वास र लगनशीलताले उहाँलाई सफल उद्यमी बनाएको हो ।
बुवा दधिराम र आमा सावित्रा रेग्मी कृषि व्यवसायमा संलग्न हुनुहुन्छ । परिवारको सालझण्डीस्थित गाई फार्म अहिले पनि प्रमुख आयस्रोत हो । मूल घर बागलुङको निसिखोला, थापागाउँ हो । गाउँले जीवनमा हुर्किएका कारण पनि मेहनत र आत्मनिर्भरता सुगमको जीवनशैलीमा सुरुदेखि नै रगतसंगै मिसिएको छ । यही संस्कारले उहाँलाई आफ्नै देशमा केही गरेर देखाउने प्रेरणा दियो ।
ओभरसियर विषयमा अध्ययन गरेका सुगमले प्रारम्भमा शिक्षण पेशा रोज्नुभयो । केही समयपछि उहाँले स्थानीय चप्पल उद्योगमा मार्केटिङको जिम्मेवारी सम्हाल्नुभयो, जहाँबाट उत्पादन र बजारको वास्तविकता बुझ्ने अवसर पाउनुभयो । केही समयपछि सोही उद्योगमा लगानी गर्ने अवसर प्राप्त भयो । जसले उहाँलाई उद्यमशिलता मात्रै सिकाएन, प्लाष्टिकको विकल्पको समेत पहिचान गराईदियो ।

उहाँले जिम्मेवारी लिएको चप्पल उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ प्लास्टिकजन्य थिए । एकातिर त्यस्ता सामग्रीको आपूर्तिका लागि अरूमा निर्भर हुनुपथ्यो, अर्कातिर वातावरण प्रदूषण बढ्ने समस्या थियो । उहाँले यो समस्या समाधानका लागि गहिरोसंग सोच्नुभयो । “के हामीले वातावरण बिगार्दै व्यवसाय गर्नुपर्ने हो ?” यही प्रश्नले सुगमको व्यवसायिक मोड बदलिदियो । अन्ततः प्लाष्टिकलाई विस्थापित गर्ने र वातावरणमैत्री उद्योग स्थापना गर्ने निर्णय लिनुभयो ।
त्यसपछि उहाँले विकल्प खोज्न थाल्नुभयो र प्राकृतिक स्रोतहरूको सदुपयोग गर्दै पर्यावरणमैत्री उत्पादनको अवधारणा जन्मियो । यसैको फलस्वरूप “इको दोस्ती नेपाल” स्थापना भयो, जसको उद्देश्य छ खेर जाने वस्तुहरूलाई उपयोगी बस्तुको उत्पादनमा रूपान्तरण गर्ने । उहाँले स्थानीय रूपमा पाइने घिरौला, भावर, कुसुमको काठ, पटेरजस्ता प्राकृतिक स्रोत प्रयोग गर्दै नुहाउने स्क्रब, भाँडा मोल्ने ढकिया, गुन्द्री, चकटी, सजावटी सामग्री, मुडा, चपिङ बोर्ड, अचानो, किचन तथा बेडरुम शुजजस्ता वस्तुहरू उत्पादन गर्न थाल्नुभयो । यी सबै सामग्री न त प्लास्टिकका हुन् न त प्रदूषण बढाउने; बरु वातावरणमैत्री, दिगो र आकर्षक छन् ।
२०८१ सालको चैतमा बजार परीक्षणका रूपमा सुरु गरिएको “इको दोस्ती नेपाल” आज करिब दुई वर्षको यात्रामा प्रवेश गरिसकेको छ । सुगमले प्रारम्भिक चरणमा आफ्नै चप्पल उद्योगका उपकरण पुनः प्रयोग गर्दै थप दुई लाख रुपैयाँको लगानी गर्नुभयो । हाल यस उद्योगले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

उहाँका उत्पादन अहिले सैनामैना र बुटवलका बजारमा लोकप्रिय बन्दै गएका छन् । पारिवारिक सहयोगमा जापान र कोरियासम्म पनि केही सामान पठाउन सफल भएको सुगम बताउनुहुन्छ । उहाँको आगामी लक्ष्य भने पोखरा, चितवन, काठमाडौंजस्ता सहरहरू हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने हो ।
सुगमको दृष्टि स्पष्ट छ–“स्थानीय कच्चा पदार्थबाट गुणस्तरीय वस्तु उत्पादन गर्ने, त्यसको ब्रान्डिङ गर्ने र रोजगारी सिर्जना गर्ने ।” यो सोचले युवाहरूका लागि आत्मनिर्भरता र नवीन सोचको मार्ग खोलिरहेको छ । साथै, किसानहरूले पनि खेर जाने वस्तुहरू बिक्री गरेर अतिरिक्त आम्दानी पाउन थालेका छन् ।
तर चुनौती भने नभएका होईनन् । दक्ष जनशक्तिको कमी र बजारमा प्लाष्टिकका सस्ता उत्पादनहरूसँगको प्रतिस्पर्धा मुख्य चुनौती हुन् । यद्यपि सुगम गर्वका साथ भन्नुहुन्छ–“म सन्तुष्ट छु, किनकि व्यवसाय चलिरहेको छ, बजार विस्तार हुँदैछ, र किसानहरूले पनि खेर गईरहेको बस्तुबाट अतिरिक्त आम्दानी गर्न थालेका छन् ।”
उहाँका जुम्लिया भाइ अशोक परिवार सहित जापानमा हुनुहुन्छ । तर सुगमले भने नेपालमै रहेर केही फरक र अर्थपूर्ण काम गर्ने अठोट गर्नुभएको छ । उहाँका अनुसार, परिवारको साथ र विश्वास नै आफ्नो प्रेरणाको स्रोत हो ।
“इको दोस्ती नेपाल” केवल एउटा व्यवसाय होइन, यो सुगम रेग्मीको सोच, मेहनत र जिम्मेवारीको प्रतीक हो । खेर जाने वस्तुहरूलाई नयाँ जीवन दिँदै उहाँले वातावरण संरक्षण र ग्रामीण अर्थतन्त्र दुवैलाई सशक्त बनाउँदै हुनुहुन्छ । सुगमको कथा प्रमाण हो, परिवर्तन ल्याउन ठूलो पूँजी होइन, सकारात्मक सोच र निष्ठा चाहिन्छ । सुगमले देखाएको उदाहरणले सानो प्रयासबाट पनि ठूलो प्रभाव पार्न सकिन्छ भन्ने यथार्थ प्रमाण देखाईदिएको छ ।