नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १७ देखि सुरु हुने तय गरिएको क्यानले जनाएको छ ।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । लिग चरणका खेलहरू डिसेम्बर ७ (आइतबार) मा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेलसँगै सम्पन्न हुने छन् ।
त्यसपछि प्लेअफ चरण सुरु हुनेछ । क्यानका अनुसार पहिलो क्वालिफायर डिसेम्बर ९ मा, इलिमिनेटर खेल डिसेम्बर १० मा र दोस्रो क्वालिफायर डिसेम्बर ११ मा हुनेछ । एनपीएलको फाइनल खेल डिसेम्बर १३ (शनिबार) मा तय गरिएको छ ।
क्यानले सबै खेल बिहान ११:१५ र दिउँसो ४ बजे सुरु हुने गरी समय निर्धारण गरेको छ । दुई खेल हुने दिनमा यी समय लागू हुने छन् भने एक मात्र खेल हुने दिन दिउँसो ४ बजेबाट खेल सुरु हुनेछ । साथै लिग चरणका चार खेल र फाइनल खेल दिउँसो ३:३० बजेबाट सुरु हुने क्यानले जनाएको छ ।
नेपाल प्रिमियर लिगलाई देशकै प्रतिष्ठित फ्रेन्चाइज टी–२० प्रतियोगिता मानिन्छ । यस सिजनमा देशभरका उत्कृष्ट खेलाडीहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।