लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गर्दै ८६ रनको सामान्य लक्ष्य ९ ओभरमै पूरा गरेको हो ।
लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले धारिलो बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिमको ब्याटिङ धराशयी बनेको थियो । फाइनलमा सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएल फाइनलकै सबैभन्दा कम योगफल हो भने प्रतियोगिताको संयुक्त रूपमा चौथो न्यून स्कोरसमेत हो ।
बलिङतर्फ कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान–समान तीन–तीन विकेट लिए । रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरेका थिए । रोहितले चार ओभरमा १२ रन मात्र खर्चिए ।
रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले चार ओभरमा १८ रन दिएर ३ विकेट हात पारे । तिलक भण्डारीले चार ओभरमा २६ रन खर्चेर एक विकेट लिए ।
सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । ५१ बल खेलेका उनले एक चौका प्रहार गरे । चौथो विकेटका लागि इशान र कप्तान दीपेन्द्र सिंह ऐरीबीच २५ रनको साझेदारी भएको थियो । दीपेन्द्रले २० बलमा एक छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १०–१० रन जोडे ।
जवाफी ब्याटिङमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले विस्फोटक सुरुवात दिलाए । उनले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै चार छक्का प्रहार गर्दै लुम्बिनीले २७ रन जोडेको थियो । दिनेशले १३ बलमा एक चौका र पाँच छक्का सहित ४२ रन बनाए । पहिलो विकेटका लागि दिनेश र डार्शी सर्टले चार ओभरमै ५८ रनको साझेदारी गरे ।