बुटवलमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ । शनिबार बुटवलमा आयोजित कार्यक्रममा एचए पहिलो वर्षमा अध्ययनरत ४० जना र ल्याब टेक्निसियन पहिलो वर्षका ३० जना गरी कुल ७० जना विद्यार्थीलाई स्वागत गरिएको थियो भने ल्याब टेक्निसियन तेस्रो वर्ष अध्ययन पूरा गरेका ३० जना विद्यार्थीलाई विदाई गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले मेडिकल क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार आफूलाई सक्षम र दक्ष बनाउँदै जान आग्रह गर्नुभयो । उहाँले मेडिकल क्षेत्र सम्भावनासँगै चुनौतीपूर्ण र संवेदनशील पनि भएकाले गुणस्तरीय सेवा दिन सक्ने जिम्मेवार जनशक्ति उत्पादनमा विद्यार्थीले समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
अक्सबृज इन्टरनेशनल एकेडेमीका प्रबन्ध निर्देशक डिपी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापाले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्नु मुलुकका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । तर, यही क्षेत्रमा उत्पादन भएको दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जानु दुःखद् विषय भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा भीम अस्पताल भैरहवाका अध्यक्ष आनन्दप्रसाद शर्मा, सीटीईभीटी लुम्बिनी प्रदेशका वरिष्ठ अधिकृत राजु भुसाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय सल्लाहकार चिरञ्जीवी जोशी, फोरम फर हेल्थका प्रदेश सचिव विनोद घिमिरे, पत्रकार कपिल ज्ञवाली, अक्सबृजका भिजिटिङ लेक्चरर मधुकर शर्मा लगायतले उच्च शिक्षा अध्ययनका लागि विदाई भएका विद्यार्थीलाई सफल भविष्यको कामना गर्नुभएको थियो ।
विद्यार्थी अक्षता थापा र विष्णु पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए । अक्सबृज इन्टरनेशनल एकेडेमीमा ल्याब टेक्निसियन, एचए, प्रि–डिप्लोमा इन सिभिल तथा एग्रिकल्चर विषयको अध्ययन–अध्यापन हुँदै आएको परीक्षा प्रमुख गणेश बेल्बासेले जानकारी दिनुभयो ।