बिहिबारदेखि बुटवलमा औद्योगिक प्रदर्शनी : तयारी पूरा

1.3K

बिहिबारदेखि बुटवलमा औद्योगिक प्रदर्शनी : तयारी पूरा

आगामी बिहिबारदेखि बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुदैछ । रुपन्देही उद्याेग संघकाे आयाेजनामा यहि पुसकाे ३ देखि १७ गतेसम्म १६ औँ संस्करणकाे राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव गर्न लागिएकाे हाे ।
महाेत्सवकाे बिहिबार अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुहुनेछ । त्यस्तै निजी क्षेत्रका छाता संस्थाका प्रतिनीधिहरुले समेत सम्बाेधन गर्ने कार्यक्रम तय गरिएकाे छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन, औद्योगिक विकास र पर्यटन विस्तारलाई जाेड दिंदै आयाेजना गर्न लागिएकाे प्रदर्शनीकाे तयारी करिव पूरा भएकाे मंगलबार मेला स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरि जानकारी दिईएकाे छ ।
१५ दिनसम्म सञ्चालन गरिने यसपटकको महोत्सवको नारा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” रहेको छ ।
रुपन्देही उद्याेग संघका अध्यक्ष एवम् महाेत्सव आयाेजक मुलसमितिका संयाेजक कृष्ण पराजुलीका अनुसार प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शन तथा बजारीकरण, नयाँ प्रविधिको खोजी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता प्रोत्साहन र स्टार्टअप सिर्जनालाई विशेष प्राथमिकता दिइएको छ । त्यस्तै उत्पादनकर्ता, उपभोक्ता, विज्ञ तथा सरकारी निकायबीच अन्तरसंवाद गर्ने अवसरसमेत रहनेछ ।
महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, जुत्ता–चप्पल, खाद्यान्न, सूचना प्रविधि लगायतका करिब ३५० स्टल रहनेछन् । करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा प्रदर्शनी मुल समितिका सहसंयाेजक जीवकान्त काफ्लेले बताउनु भयाे । प्रदर्शनी अवलाेकनका लागि ७५ रुपैंया टिकट दर निर्धारण गरिएकाे छ । त्यस्तै बिद्यार्थीलाई २५ रुपैंया छुट गरिने छ ।
प्रदर्शनीलाई आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, हास्य तथा सांगीतिक कार्यक्रम, विद्यालय तथा कलेजस्तरीय नृत्य प्रतियोगिता, लोकभजन, प्रदर्शनी आइडल, हिपहप तथा सामूहिक नृत्य प्रतियोगिताजस्ता मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएकाे छ ।
महोत्सव सफल बनाउन मुल समिति तथा विभिन्न विषयगत उपसमिति, सल्लाहकार समिति लगायतका समितिहरु गठन गरी व्यवस्थापन, सुरक्षा, प्रचार–प्रसार र मूल्यांकनको काम अघि बढाइएको प्रचारप्रसार समिति संयाेजक किरण खरेलले बताउनु भयाे ।
आयोजकका अनुसार यस प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश गरिनेछ । नेपाल उद्याेग परिसंघले अगाडि सारेकाे ‘मेक इन नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउँदै स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको बताइएको संघका महासचिव सुमन बस्यालले बताउनु भयाे ।