आजदेखि बुटवलमा औद्योगिक प्रदर्शनी

1.3K

आजदेखि बुटवलमा औद्योगिक प्रदर्शनी

आजदेखि बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु हुदैछ । रुपन्देही उद्याेग संघकाे आयाेजनामा १६ औँ संस्करणकाे राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव गर्न लागिएकाे हाे ।
महाेत्सवकाे अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्नुहुनेछ । त्यस्तै निजी क्षेत्रका छाता संस्थाका प्रतिनीधिहरुले समेत सम्बाेधन गर्ने कार्यक्रम तय गरिएकाे छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन, औद्योगिक विकास र पर्यटन विस्तारलाई जाेड दिंदै आयाेजना गरिएकाे प्रदर्शनीकाे तयारी पूरा भएकाे रुपन्देही उद्याेग संघका अध्यक्ष एवम् महाेत्सव आयाेजक मुलसमितिका संयाेजक कृष्ण पराजुलीले जानकारी गराउनु भयाे ।
“समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने  नारा सहित १५ दिनसम्म सञ्चालन गरिने महोत्सवमा स्वदेशी उत्पादनको प्रदर्शन तथा बजारीकरण, नयाँ प्रविधिको खोजी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता प्रोत्साहन र स्टार्टअप सिर्जनालाई विशेष प्राथमिकता दिइएको छ । त्यस्तै उत्पादनकर्ता, उपभोक्ता, विज्ञ तथा सरकारी निकायबीच अन्तरसंवाद गर्ने अवसरसमेत रहनेछ ।
महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, जुत्ता–चप्पल, खाद्यान्न, सूचना प्रविधि लगायतका करिब ३५० स्टल रहनेछन् । करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा प्रदर्शनी मुल समितिका सहसंयाेजक जीवकान्त काफ्लेले बताउनु भयाे । प्रदर्शनी अवलाेकनका लागि ७५ रुपैंया टिकट दर निर्धारण गरिएकाे छ । त्यस्तै बिद्यार्थीलाई २५ रुपैंया छुट गरिने छ ।
प्रदर्शनीलाई आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, हास्य तथा सांगीतिक कार्यक्रम, विद्यालय तथा कलेजस्तरीय नृत्य प्रतियोगिता, लोकभजन, प्रदर्शनी आइडल, हिपहप तथा सामूहिक नृत्य प्रतियोगिताजस्ता मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएकाे छ ।
महोत्सव सफल बनाउन मुल समिति तथा विभिन्न विषयगत उपसमिति, सल्लाहकार समिति लगायतका समितिहरु गठन गरी व्यवस्थापन, सुरक्षा, प्रचार–प्रसार र मूल्यांकनको काम अघि बढाइएको प्रचारप्रसार समिति संयाेजक किरण खरेलले बताउनु भयाे ।
आयोजकका अनुसार यस प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश गरिनेछ । नेपाल उद्याेग परिसंघले अगाडि सारेकाे ‘मेक इन नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउँदै स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको बताइएको संघका महासचिव सुमन बस्यालले बताउनु भयाे ।