नेकपा एमालेकाे अध्यक्षमा केपी ओलीकाे ह्याट्रिक भएकाे छ । पार्टीकाे ११ औँ महाधिवेशनबाट ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुग्नुभएकाे छ । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित हुनु भएकाे थियाे ।
निर्वाचन आयोगका अनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्नुभएकाे छ । अध्यक्षमा ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभएकाे छ । पार्टीकाे नेतृत्व लिनकाे लागि ओली र पाेखरेलले छुट्टा छुट्टै प्यानल बनाएर चुनावमा हाेमिएका थिए । नवनिर्वाचित कार्यसमितिमा पनि अधिकाँश पदमा ओली प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् ।
पाँच उपाध्यक्ष पदमा केपी ओली प्यानलका ३ जना ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र उम्मेदवार एक जना विजयी भएका छन् । उपाध्यक्षमा ओली प्यानलका विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र रामबहादुर थापा तथा ईश्वर पाेखरेल प्यानलका गोकर्ण विष्ट र स्वतन्त्र उम्मेद्वारी दिएका रघुजी पन्त निर्वाचित हुनुभएकाे हाे ।
महासचिवमा भने ओेली प्यानलका शंकर पाेखरेल निर्वाचित हुनुभएकाे छ । पाेखरेल दाेस्राे कार्यकालकाे लागि महासचिवमा निर्वाचित हुनुभएकाे हाे । त्यसैगरी उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । लेखराज भट्ट र रघुवीर महासेठ ओली प्यानलबाट हुनुहुन्छ भने योगेस भट्टराई ईश्वर पाेखरेल प्यानलबाट निर्वाचित हुनुभएकाे हाे ।
सचिवमा भने अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९ सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कंडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित हुनुभएकाे छ ।
