अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता बिना आर्थिक सूचकमा सुधार सम्भव नहुने बताउनु भएकाे छ । देशको वर्तमान आर्थिक अवस्थालाई उकास्न स्थिर राजनीतिक वातावरण अपरिहार्य रहेको उहाँको भनाइ छ ।
रुपन्देही उद्योग संघद्वारा बुटवलमा आयोजित १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले आर्थिक गतिविधि विस्तारका लागि निश्चित र समयमै हुने निर्वाचन महत्वपूर्ण आधार भएको बताउनु भयाे ।
उहाँले पछिल्लो समय अर्थतन्त्रका केही सूचक सकारात्मक देखिन थालेको उल्लेख गर्नुभयाे । “कम मूल्यवृद्धि नेपालकै इतिहासमा पहिलो पटक देखिएको अवस्था हो, यसले उपभोक्तालाई राहत दिएको छ,” उहाँले भन्नभयाे-“मुद्रा सञ्चिति बढेको छ, वित्तीय क्षेत्रमा पूँजीको अवस्था सुदृढ बन्दै गएको छ र आर्थिक गतिविधिमा क्रमशः विस्तार भइरहेको छ ।”
तर, यी सकारात्मक सूचकका बाबजुद अपेक्षित लगानी विस्तार हुन नसकेको उहाँको स्वीकारोक्ति थियो । “लगानीका लागि वातावरण बनिरहेको छ, तर विश्वास र स्थायित्व अझै मजबुत बनाउन आवश्यक छ,” उहाँले भन्नुभयाे ।
अर्थमन्त्री खनालले अन्तरिम सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै तत्कालीन राहत कार्यक्रम अघि बढाइएको जानकारी पनि दिनुभयाे । जेन–जी आन्दोलनपछिको समयमा केही आर्थिक गतिविधि पुनः चलायमान हुन थालेको उहाँको भनाइ छ ।
बुटवललाई परम्परागत औद्योगिक केन्द्रका रूपमा उल्लेख गर्दै उहाँले उद्योग, व्यापार र रोजगारी विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५ सयभन्दा बढी स्वदेशी उद्योगका स्टल सहभागी छन् । प्रदर्शनीले स्थानीय उत्पादन, प्रविधि र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रकुमार पाण्डे, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल तथा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आर्थिक विकास र औद्योगिक सम्भावनाबारे धारणा राख्नुभएकाे थियाे ।
कार्यक्रममा स्वागत गर्दै संघका वरिष्ठ जीकान्त काफ्लेले प्रदर्शनीलाई विगतभनदा फरक र अझै व्यवस्थित बनाइएकाे जानकारी गराउनुभयाे ।

यसै अवसरमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार प्रकाश आचार्यलाई सम्मान गरिएकाे छ । संघले स्थापना गरेकाे याे पुरस्कारकाे राशी ४८ हजार रुपैंया छ । संघका महासचिव सुमन बस्यालले पुरस्कारले औद्योगिक क्षेत्रसम्बन्धी पत्रकारितालाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयाे ।