नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीको आयोजनामा जिल्ला स्तरीय अन्तरविद्यालय लाइफ स्टिल चित्रकला प्रतियोगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । प्रतियोगिता कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
प्रतियोगितामा रुपन्देही जिल्लाका सामुदायिक तथा निजी गरी १६ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा राखिएको दृश्य अवलोकन गर्दै स्थिर (लाइफ स्टिल) चित्रकला निर्माण गरेका थिए ।
प्रतियोगितामा क्यानन माध्यमिक विद्यालयका आर्यन परियार प्रथम हुन सफल भए । यसैगरी पामिर इन्टरनेशनल एकेडेमीकी एलिश पाण्डे द्वितीय, गार्गी एकेडेमीकी पास्ना अधिकारी तृतीय तथा न्यू होराइजन माध्यमिक विद्यालयकी दिप्सा कर्माचार्य सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भइन् ।
उत्कृष्ट विद्यार्थीहरूलाई नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष एच.भी. रम्तेलले नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रम्तेलले विद्यालय तहबाटै लाइफ स्टिल पेन्टिङले विद्यार्थीहरूमा कलाप्रतिको रुचि र अनुभूतिको सुरुवात गराउने बताउनुभयो । उहाँले यस प्रकारका सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । विद्यार्थीहरूलाई एउटै स्थानमा भेला गराई प्रत्यक्ष देखिएको दृश्यलाई क्यानभासमा उतार्नु आफैँमा ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो ।
नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष दिलिप रसालीले संघको स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसको अवसरमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता अत्यन्त सकारात्मक रहेको बताउँदै आगामी दिनमा यसलाई अझ बृहत् रूपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कालिका मानवज्ञान माध्यमिक विद्यालयका मानविकी संकाय इन्चार्ज विमल आत्रेय, संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बेनप्रसाद थापा, प्राज्ञ यमबहादुर थापा, शिक्षक विशाल थापा, सह–सचिव राजु खड्का तथा सहभागी विद्यार्थीहरूको तर्फबाट शान्ति नमूना नवीन रावतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।