घट्यो धान उत्पादन : खडेरी र बसाइँसराइकाे प्रभाव

1.3K

घट्यो धान उत्पादन : खडेरी र बसाइँसराइकाे प्रभाव

नेपालको अर्थतन्त्र र खाद्य सुरक्षाको मेरुदण्ड मानिने धान बालीको उत्पादन यस वर्ष घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक तथ्यांकअनुसार धानको क्षेत्रफल, कुल उत्पादन र प्रतिहेक्टर उत्पादकत्व-तीनै सूचकमा अघिल्लो वर्षको तुलनामा कमी आएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत छ । त्यसमध्ये धान बालीको मात्रै हिस्सा करिब १२ प्रतिशत रहेकाले धान उत्पादनको तथ्यांकलाई नीति निर्माता, शोधकर्ता र आम नागरिकले विशेष चासोका साथ हेर्ने गरेका छन् ।
मन्त्रालयका अनुसार यस वर्ष धान खेती गरिएको कुल क्षेत्रफल १३ लाख ६७ हजार ७२ हेक्टरमा सीमित भएको छ, जुन गत आव २०८१/८२ को तुलनामा ३.८ प्रतिशतले कम हो । गत वर्ष १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धान रोपाइँ गरिएको थियो । क्षेत्रफल घटेसँगै कुल उत्पादन पनि ४.२० प्रतिशतले घटेको छ । गत वर्ष ५७ लाख ५५ हजार ४ सय ६७ टन उत्पादन भएको धान यस वर्ष ५५ लाख ५ हजार १ सय २६ टनमा झर्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रतिहेक्टर उत्पादकत्व पनि ४.१९ टनबाट घटेर ४.१४ टनमा सीमित भएको छ ।
धान उत्पादन घट्नुका कारण बहुआयामिक रहेको मन्त्रालयको निष्कर्ष छ । पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीको आकर्षणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ । साथै कृषकहरू धानभन्दा फलफूल र नगदे बालीतर्फ आकर्षित हुनु पनि एक कारण मानिएको छ । तराई र सहरी क्षेत्रमा बढ्दो आप्रवासनका कारण जमिन खण्डीकरण भई औद्योगिक तथा भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुँदा धान खेतीको क्षेत्रफल खुम्चिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, मधेस प्रदेशमा धान रोपाइँको मुख्य समयमा परेको खडेरीले क्षेत्रफल र उत्पादन दुवैमा असर पारेको छ । उन्नत बिउ र मलखादको उपलब्धता हुँदाहुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा गिरावट आएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले यस वर्ष उत्पादन अनुमान तयार गर्दा वैज्ञानिक र आधुनिक विधि अपनाइएको दाबी गरेको छ । सातै प्रदेशका कृषि मन्त्रालयबाट प्राप्त विवरण, अघिल्ला वर्षका तथ्यांक, रोपाइँको अवस्था, सिँचाइ सुविधामा आएको परिवर्तन तथा किसानसँगको अन्तर्क्रियालाई आधार बनाइएको छ । उत्पादकत्व मापनका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तह र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गरिएको बाली कटानीको तथ्यांक प्रयोग गरिएको छ ।
तथ्यांकको विश्वसनीयता बढाउन इसिमोडसँगको सहकार्यमा ‘रिमोट सेन्सिङ २०२५’ अन्तर्गत भू–उपग्रहबाट प्राप्त तथ्यांकसमेत समावेश गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. जानुका पण्डितले जानकारी दिइन् । विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको ट्र्याङ्गुलेसन र भ्यालिडेसन गरी अन्तिम प्रतिवेदन तयार पारिएको उनको भनाइ छ ।
धान उत्पादनमा आएको गिरावटले आगामी वर्षको खाद्य आपूर्ति र समग्र आर्थिक वृद्धिमा असर पर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।