सुनचाँदीको मुल्यमा अस्वभाविक बृद्धि : सुनको मुल्य तोलाको ३ लाख ३९ हजार बढी

1.3K

सुनचाँदीको मुल्यमा अस्वभाविक बृद्धि : सुनको मुल्य तोलाको ३ लाख ३९ हजार बढी

नेपाली बजारमा सुनचाँदीको मूल्यले अस्वाभाविक गति लिँदै नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ । पछिल्ला केही दिनयता दैनिक रूपमा ठूलो अन्तरले मूल्य बढ्नुले उपभोक्ता मात्र होइन, व्यवसायीसमेत चिन्तित देखिएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बृद्धि भएको छ । यो बृद्धिगै सुनको मुल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार मात्रै सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको थियो । दुई दिनमै करिब ३० हजार रुपैयाँको वृद्धि हुनुले बजारमा अस्थिरता झन् स्पष्ट देखाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँ थियो भने त्यसयता निरन्तर उकालो लागेको छ । महासंघका अनुसार हाल १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धि, डलरको भाउ, भूराजनीतिक तनाव तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ ।
सुनसँगै चाँदीको मूल्य पनि लगातार बढिरहेको छ । बुधबार चाँदी प्रतितोला २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको थियो ।
मूल्य यसैगरी बढिरहेमा सुनचाँदीको कारोबारमा मन्दी आउने र उपभोक्ता खरिद क्षमतामा थप दबाब पर्ने सम्भावना छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारको चालअनुसार आगामी दिनमा मूल्य अझै घटबढ हुन सक्ने देखिन्छ ।