पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा ३७ जना उम्मेद्वारले आफैलाई भोट हाल्न पाउने छैनन् । ५ निर्वाचन क्षेत्रमा कुल १५५ जना उम्मेद्वार मध्ये आफूले आफैलाई भोट हाल्न नपाउने त्यस्ता अभागी उम्मेद्वार क्षेत्र नं. १ मा ९ जना, क्षेत्र नं. २ मा ८ जना, क्षेत्र नं. ३ मा ५ जना, क्षेत्र नं. ४ मा ८ जना र क्षेत्र नं. ५ मा ७ जना रहेका छन् । आफ्नो मतदाता नामावलीमा नाम रहेको निर्वाचन क्षेत्र भन्दा फरक निर्वाचन क्षेत्रमा प्रतिपर्धा गर्न गएका कारण आफूले आफैलाई मतदान गर्नबाट वञ्चित भएका हुन् ।
आफूले आफैलाई मतदान गर्न नपाउने प्रमुख दलकै उम्मेद्वार पनि छन् । एमालेबाट क्षेत्र नं. ३ मा उम्मेद्वार बनेका बासुदेव घिमिरे, काँग्रेस छाडेर एमाले प्रवेश गरी क्षेत्र नं. ४ मा एमालेबाट उम्मेद्वार बनेका प्रमोद यादव, रास्वपाबाट रुपन्देही २ मा उम्मेद्वार बनेका शुलभ खरेल, क्षेत्र नं. १ मा राप्रपाबाट उम्मेद्वार बनेका स्व. दीपक बोहोराका छोरा प्रज्वल बोहोरा लगायत ३७ जना उम्मेद्वारले आफैलाई मतदान गर्न पाउने छैनन् ।
रुपन्देहीको क्षेत्र नं. १ मा २० जना दलका सहित ३१ जना उम्मेद्वार चुनावी मैदानमा छन् । ११ जना स्वतन्त्र उम्मेद्वार हुन् । त्यसमध्ये २ जना स्वतन्त्र सहित ९ जना उम्मेद्वारले आफैलाई भोट हाल्न पाउँदैनन् । रुपन्देहीको क्षेत्र नं. १ मा ओमसतिया गाउँपालिकाको वडा नं. १, ३, ४, ५ र ६ तिलोत्तमा नगरपालिकाको ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, देवदह नगरपालिकाका १ देखि १२ सम्मका वडा र रोहिणी गाउँपालिकाका १ देखि ७ सम्मका वडा पर्दछन् । यो स्थानमा मतदाता नामावलीमा नाम नभएकाहरुले यहाँ मदतान गर्न पाउँदैनन् ।
यो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेद्वार बनेका पाल्हिनन्दन गाउँपालिका वडा नं. ६ नवलपरासीका उमाशंकर प्रसाद चौधरी, श्रम संकृति पार्टीबाट उम्मेवार बनेका बुटवल उपमहानगरपालिका वडा नं. ७ का छविलाल गुरुङ, सस्तन्त्र रुपमा उम्मेद्वारी दिएका सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का धर्मबहादुर केसी, जनमत पार्टीबाट उम्मेद्वारी दिएकी ओमसतिया गाउँपालिका २ का निलुकमारी चौधरी, राप्रपाबाट उम्मेद्वारी दिएका सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का प्रज्वल बोहोरा (स्व. दीपक बोहोराका छोरा), आम जनता पार्टीबाट उम्मेद्वारी दिएका सुनवल नगरपालिका ४ पश्चिम नवलपरासीका बदरु दोजा फकिर, स्वतन्त्र उम्मेद्वार सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का शंकर खत्री, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेद्वार बनेका सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का श्रीबहादुर कुवर र नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वार बनेका लुम्बिनी सांस्कृति नगरपालिका वडा नं. ११ का हिमलाल पाण्डेले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।
रुपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सुलभ खरेल सहित ८ जना उम्मेद्वारले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । यो निर्वाचन क्षेत्रमा १९ वटा दलका उम्मेद्वार सहित ३९ जना चुनावी मैदानमा छन् । २० जना स्वतन्त्र उम्मेद्वार हुन् । रास्वपा उम्मेद्वार खरेलको रुपन्देहीको क्षेत्र नं. ३ मा पर्ने बुटवल उपमहानगरपालिका वडा नं. १६ मा मदताता नामावलीमा नाम छ ।
रुपन्देही क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ सम्मका वडा, तिलोत्तमा नगरपालिकाको १ देखि ६ सम्मका वडा र सैनामैना नगरपालिकाको १ देखि ४ सम्मका वडा समेटिएको छ । यो निर्वाचन क्षेत्रमा रास्वपाका खरेल सहित श्रम संस्कृति पार्टीबाट प्रतिनीधि सभामा उम्मेद्वार बनेका पाल्पाको रम्भा गाउँपालिका ३ का भिमबहादुर गौतम, जनमत पार्टीबाट उम्मेद्वार बनेका मायादेवी गाउँपालिका वडा नं. २ का रमेश लोध, नेपाली जनता दलबाट उम्मेद्वार बनेका बागलुङ जैमुनीका राजु पौडेल, नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वार बनेकी भक्तपुर नगरपालिका २ की रोशिना व्यान्जु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट उम्मेदवार बनेका कैलाली लम्किचुहा नगरपालिका १ का बिरेन्द्र विक, संयुक्त नागरिक पार्टीबाट उम्मेद्वार बनेका नवलपरासी विनयी त्रिवेणी गाउँपालिका ४ का शिव प्रिथी दमाई र मंगोल नेशनल अर्गनाईजेसनबाट उम्मेद्वार बनेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ चन्द्रकुमारी गुरुङले पनि आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।
रुपन्देहीको क्षेत्र नं. ३ मा १९ दल र १७ स्वतन्त्रसहित ३६ जना उम्मेद्वार चुनावी मैदानमा छन् । त्यसमध्ये एमाले उम्मेद्वाद बासुदेव घिमिरे सहित ५ जना उम्मेद्वारले आफूले आफैलाई मदतान गर्न पाउने छैनन् । क्षेत्र नं. ३ का एमाले उम्मेद्वार घिमिरेको तिलोत्तमा नगरपालिका वडा नं. ४ मा मतदाता नामावलीमा नाम छ । तिलोत्तमा नगरपालिका वडा नं. ४ क्षेत्र नं. २ मा पर्दछ ।
क्षेत्र नं. ३ मा ओमसतिया गाउँपालिकाको वडा नं. २, तिलोत्तमा नगरपालिकाको वडा नं. १३ र १४, बुटवल उपमहानगरपालिकाको वडा नं. १४, १५, १६, १७, १८ र १९, मायादेवी गाउँपालिकाको वडा नं. ७ र ८, शुद्धोधन गाउँपालिकाको १ देखि ७ सम्मका वडा, सिद्धार्थनगर नगरपालिकाका १ देखि १३ सम्मका वडा तथा सियारी गाउँपालिकाका वडा नं. १, २, ३, ६ र ७ समेटिएको छ । यो निर्वाचन क्षेत्रमा एमाले उम्मेद्वार घिमिरे सहित मंगोल नेशनल अर्गनाईजेशनबाट उम्मेद्वार बनेका देवदह नगरपालिका वडा नं. ५ का कुलविर घर्ती मगर, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेद्वार बनेका तिलोत्तमा नगरपालिका वडा नं. १५ का गोविन्दप्रसाद काराखेती, जनता समाजवादी पार्टीबाट उम्मेद्वार बनेका कोटहीमाई गाउँपालिका २ का श्रीनिवास यादव र उज्यालो नेपाल पार्टीबाट उम्मेद्वार बनेका रोहिणी ४ रुपन्देहीका सरोजसिंह चौधरीले पनि आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।
क्षेत्र नं. ४ मा २२ जना उम्मेदवारमध्ये ८ जनाले आफैलाई भोट हाल्न पाउँदैनन् । यो निर्वाचन क्षेत्रमा १५ जना दलबाट र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले आफूले आफैलाई भोट हाल्न पाउँदैनन् । यादवको रोहिणी गाउँपालिका वडा नं. २ मा मतदाता नामावलीमा नाम छ ।
रुपन्देहीको क्षेत्र नं. ४ मा कोटहीमाई गाउँपालिकाका १ देखि ७ सम्मका वडा, मर्चवारी गाउँपालिकाका १, देखि ७ सम्मका वडा, मायादेवी गाउँपालिकाका २ देखि ६ सम्मका वडा, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २, १२ र १३, सम्मरीमाई गाउँपालिकाका १ देखि ७ सम्मका वडा र सियारी गाउँपालिकाको वडा नं. ४ र ५ पर्दछ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट रुपन्देही ४ मा उम्मेदवार बनेका कमल कोजुको पनि भक्तपुर नगरपालिका–९ को मतदाता नामावलीमा नाम छ । मंगोल नेशनल अर्गनाईजेशनबाट क्षेत्र नं. ४ मा उम्मेदवार बनेका तिलोत्तमा १२ का कर्णबहादुुर गुरुङले पनि आफूलाई भोट हाल्न पाउने छैनन् । रुपन्देहीको क्षेत्र नं. ४ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका बुटवल ११ का जुठे दमाई, आम जनता पार्टीबाट उम्मेदवार बनेकी सियारी १ की ज्योती थापा, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट उम्मेद्वार बनेका तिलोत्तमा ११ का फडिन्द्र तिवारी, जनमत पार्टीबाट उम्मेद्वार बनेका रोहिणी २ का भोपेन्द्रप्रसाद यादव र स्वतन्त्र उम्मेदवारी दिएकी मायादेवी ८ की शशिकला पाण्डेले पनि आफैलाई भोट दिन पाउने छैनन ।
रुपन्देहीको क्षेत्र नं. ५ मा १९ राजनीतिक दल र स्वतन्त्र समेत गरी २७ जना उम्मेद्वार छन् । त्यसमध्ये ७ जना उम्मेद्वारले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । रुपन्देही जिल्लाको क्षेत्र नं. ५ मा कञ्चन गाउँपालिकाका १ देखि ५ सम्मका वडा, गैडहवा गाउँपालिकाका १ देखि ९ सम्मका वडा, मायादेवी गाउँपालिकाको वडा नं. १, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नं. १, लुम्बिनी सांस्कृतिक नगरपालिकाकै ३ देखि ११ सम्मका वडा तथा सैनामैनानगरपालिकाका ५ देखि ११ सम्मका वडा समेटिएको छ ।
यो निर्वाचन क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेदवार बनेका देवदह नगरपालिका ७ का ईन्द्रबहादुर नेपाली, जनमत पार्टीबाट उम्मेद्वार बनेका मायादेवी गाउँपालिका ६ का ओमप्रकाश यादव, नेशनल रिपब्लिक नेपालबाट उम्मेद्वार बनेका सैनामैना नगरपालिका ३ का केशु रासकोटी मगर, आम जनता पार्टीबाट उम्मेद्वार बनेका तिलोत्तमा नगरपालिका १४ का खेमप्रसाद गुरुङ, स्वतन्त्र उम्मेद्वार ओमसतिया गाउँपालिका वडा नं. ३ का जगदिश यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका सिद्धार्थनगर नगरपालिका वडा नं. १ वेलहियाका तौफिक अमहद खान र श्रम संस्कृति पार्टीबाट उम्मेद्वार बनेका रुपन्देहीको देवदह नगरपालिका वडा नं. ३ का शिवलाल विश्वकर्मा आफूले आफैलाई मतदान गर्नबाट वञ्चित भएका हुन् ।