नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पामा अधुरा रहेका विकास निर्माणका आयोजना पूरा गर्नु नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनु भएकाे छ ।
बुटवलमा आईतबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका पाण्डेले २०७९ सालको निर्वाचनपछि पाल्पाको विकासले अपेक्षित गति लिन नसकेको दाबी गर्दै स्थानीयको आग्रह र चाहनाअनुसार पुनः निर्वाचनमा होमिएको बताउनु भयाे ।
आफू पदमा रहँदा मात्र नभई पदमा नरहँदा पनि पाल्पाको विकासका लागि निरन्तर सक्रिय रहँदै आएको बताउँदै पाण्डेले सिद्धबाबा सुरुङ मार्ग निर्माणमा आफूले निर्णायक पहल गरेको दावी गर्नुभयाे । तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग बजेट सुनिश्चित गर्न दबाब दिएको र बजेट नआए अनशन बस्ने चेतावनी दिएपछि मात्र १० अर्ब रुपैयाँ बजेट सुनिश्चित भएको उहाँको दाबी छ ।
निर्वाचन जितेमा पाल्पालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै पाण्डेले पाल्पा र बुटवलबीचको भौगोलिक नजिकोपनलाई उपयोग गर्दै पर्यटन, पूर्वाधार र आर्थिक गतिविधिमा नयाँ आयाम ल्याउने बताउनु भयाे ।