स्वास्थ्य सेवालाई व्यवस्थित गर्न भूगोल सुहाउँदो मापदण्ड निर्माणमा जोड

1.3K

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न भूगोल सुहाउँदो मापदण्ड निर्माणमा जोड

स्वास्थ्य सेवा सञ्चालन व्यवस्थापनका लागि भूगोल र देशको परिवेश सुहाउँदो मापदण्ड बनाउन लुम्बिनीका अस्पताल सञ्चालकहरुले सुझाव दिएका छन् । एशोसियशन अफ हेल्थ ईन्स्टिच्यूसन अफ नेपाल (अफिन)ले स्वास्थ्य सेवा सञ्चालन तथा स्तरोन्नती मापण्ड संशोधन सम्बन्धि बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय सुझाव संकलन कार्यक्रममा यस क्षेत्रमा अस्पताल सञ्चालकहरुले ओपिडी कोठाको क्षेत्रफल घटाउन, लिजको जग्गामा पनि अस्पताल सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन, भवन निर्माण मापदण्ड अन्य सरह हुने व्यवस्था मिलाउन सुझाव दिएका हुन् ।
स्वास्थ्य सेवा सञ्चालन गर्न अस्पताल तथा क्लिनिकहरु सबैको ओपिडी कोठा १० वर्ग मिटरमा झार्न सुझाव दिईएको हो । हाल ओपिडी कोठा १४ वर्ग मिटर हुनेपर्ने व्यवस्था छ । त्यस्तै अस्पताल सञ्चालन गर्नका लागि आफ्नै जग्गा हुनुपर्ने व्यवस्थालाई संशोधन गरेर लिजको जग्गामा समेत अस्पताल सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
अस्पताल निर्माण गर्दा भवन निर्माण मापदण्ड समेत संशोधन गर्न सुझाव दिईएको छ । हाल ४० प्रतिशत क्षेत्रफल जग्गामा भवन निर्माण गर्नुपर्ने र ६० प्रतिशत जग्गा खाली राख्नुपर्ने व्यवस्था छ । तर त्यसलाई संशोधन गरेर ६० प्रतिशत जग्गामा भवन निर्माण गर्न मिल्ने र ४० प्रतिशत जग्गा अन्य प्रयोजनको लागि खुला राख्नुपर्ने मापदण्ड बनाउन सुझाव दिईएको हो । होटल लगायतका अन्य संरचना निर्माणमा पनि ६० प्रतिशतमा भवन निमार्ण गर्ने र ४० प्रतिशत खाली राख्नुपर्ने व्यवस्थालाई टेकेर उक्त सुझाव दिईएको हो ।
हालको मापदण्ड अनुसार एक सय बेड र त्यसभन्दा धेरै वेडको अस्पतालमा आफ्नै सिटि स्क्यान हुनुपर्ने छ । अस्पताल सञ्चालकहरुले त्यसलाई पनि संशोधन गर्न सुझाव दिएका छन् । अस्पताल पिच्छे सिटि स्क्यान राख्दा सिटि स्क्यानमा भएको लगानी जोखिममा हुने भएकाले सिटि स्क्यान सेवालाई व्यवस्थित गर्नेगरी अन्यसंग सम्झौता गरेर पनि गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरिएको अफिन लुम्बिनीका अध्यक्ष रामप्रसाद खरेलले जानकारी गराउनु भयो । त्यस्तै पार्किङ्को हकमा ३ बेड बराबर एउटा कार पार्किङको व्यवस्थालाई खुकुलो बनाउँदै १० बेड बराबर एक कारपार्किङ्को व्यवस्था मिलाउन आग्रह गरिएको हो ।

स्वास्थ्य सेवाको गुणस्तर सुधार, समन्वय विस्तार तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा हालको स्वास्थ्य सेवा प्रवाहको अवस्था, देखिएका चुनौती र सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो । बैठकमा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज, चिकित्सक संघ, स्वास्थ्य संस्था प्रतिनिधि, विशेषज्ञ चिकित्सक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
अफिनका लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा अफिन केन्द्रले गठन गरेको सुझाव संकलन समितिका संयोजक राजेन्द्रराज पाण्डेले सातै प्रदेशबाट प्राप्त सुझावहरु लिपिवद्ध गरेर सरकारसंग पैरवी गरिने बताउनु भयो । त्यस अवसरमा अफिनका केन्द्रीय सदस्य अर्जुन पौडेल, अफिन केन्द्रीय कार्यालयका प्रमुख प्रशासक मनिराम पौडेल लगायत यस क्षेत्रका अस्पताल सञ्चालकहरुले सुझाव दिएका थिए । अफिनका सदस्य चिरञ्जिवी पौडेलको स्वागत तथा अर्का सदस्य गणेश सेढाईको सञ्चालनमा कार्यक्रम भएको थियो ।