सहकारी पीडितद्वारा रास्वपा उम्मेद्वार खरेलविरुद्ध प्रदर्शन

1.3K

सहकारी पीडितद्वारा रास्वपा उम्मेद्वार खरेलविरुद्ध प्रदर्शन

रुपन्देही क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुलभ खरेलविरुद्ध सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले मंगलबार बुटवलमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ हाेराईजन चाेकमा घरदैलो कार्यक्रममा रहेका खरेलसँग बचत फिर्ताबारे प्रश्न गर्न पुगेका पीडितहरूले ‘तिम्रो नेता खोई, रु. लिएर आऊ’, ‘हाम्रो बचत कहिले फिर्ता हुन्छ ?’ लगायतका नारा लगाएका थिए । पीडितहरूका अनुसार आफूहरू जम्मा भएको थाहा पाएपछि खरेल नजिकैको एउटा रेष्टुरेन्टमा प्रवेश गरी करिब एक घण्टा बाहिर ननिस्किएपछि उनीहरू फर्किएका थिए ।
सुप्रिम सहकारीका १० हजारभन्दा बढी बचतकर्ताको करिब ७८ करोड ५० लाख रुपैयाँ अपचलन भएको आरोप छ । सो प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि पनि मुद्दा चलिरहेको छ र रबिलाई धरौटीमा रिहा गरिएकाे छ ।
प्रदर्शनबारे अनभिज्ञता जनाउँदै चुनावका बेला यस्ता घटना सामान्य हुने उम्मेद्वार खरेलका प्रतिक्रिया छ । रुपन्देही-२ मा विभिन्न दल र स्वतन्त समेत गरि ३९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।