राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका पहिलो स्थानमा परेको छ । ६४.४४ अंकसहित बुटवल देशकै उत्कृष्ट उपमहानगरका रूपमा स्थापित भएको हो ।
आयोगका अनुसार सुशासन, वित्तीय अनुशासन, राजस्व परिचालन, शिक्षा, स्वास्थ्य र सामाजिक सेवा क्षेत्रका १७ सूचकका आधारमा मूल्यांकन गरिएको थियो । बुटवलले समयमै बजेट पारित, राजस्व संकलन सुधार, बेरुजु न्यूनीकरण तथा पारदर्शितामा उल्लेखनीय प्रगति गर्दै अग्रस्थान हासिल गरेको हो ।
मूल्यांकनमा तुल्सीपुर उपमहानगरपालिका (६१.५३), घोराही उपमहानगरपालिका (६१.०८) र धरान उपमहानगरपालिका पछि परेका छन् भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ ।
‘उज्यालो बुटवल’ अभियान, सरसफाइ, महिला तथा युवा सशक्तीकरण कार्यक्रम र शिक्षा-स्वास्थ्य सुधारका प्रयासले बुटवललाई उत्कृष्ट बनाउन टेवा पुगेको नगरप्रमुख खेलराज पाण्डेयले बताउनु भयाे ।