आज महाशिवरात्रि : शिवालयहरूमा दर्शनार्थीको भिड

1.3K

आज महाशिवरात्रि : शिवालयहरूमा दर्शनार्थीको भिड

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । फागुन कृष्ण पक्ष चतुर्दशीका दिन पर्ने यो पर्वलाई शिवभक्तहरूले विशेष महत्वका साथ लिने गरेका छन् । यस वर्ष महाशिवरात्रिका दिन सर्वार्थ सिद्धि योग परेको विश्वास गरिएकाले यसको धार्मिक महत्व झनै बढेको मानिन्छ ।
हिन्दू पात्रोअनुसार वर्षभर १२ शिवरात्रि पर्छन्, तर फागुन महिनाको कृष्ण चतुर्दशीलाई ‘महाशिवरात्रि’का रूपमा विशेष महत्व दिइन्छ । पौराणिक मान्यताअनुसार यसै दिन भगवान शिव निराकार ब्रह्मबाट साकार रुद्र स्वरूपमा प्रकट भएको विश्वास गरिन्छ । साथै, माता पार्वतीसँग भगवान शिवको विवाह भएको दिनका रूपमा पनि यो पर्व मनाइन्छ । यही कारणले देशका विभिन्न स्थानमा राति शिवजीको जन्ती निकाल्ने परम्परा समेत छ ।
धार्मिक कथनअनुसार समुद्र मन्थनका क्रममा निस्किएको विष पिई संसारलाई विनाशबाट जोगाएको स्मरणमा पनि महाशिवरात्रि मनाइन्छ । विषपानपछि शिवको कण्ठ निलो भएकाले उनलाई ‘नीलकण्ठ’ भनिएको मान्यता छ । यसै दिन शिवलिङ्ग स्वरूपमा भगवान शिव प्रकट भएको र ब्रह्मा–विष्णुले पहिलो पूजा आराधना गरेको विश्वास गरिन्छ । त्यसैले महाशिवरात्रिमा विशेषगरी शिवलिङ्गको विधिपूर्वक पूजा गर्ने चलन छ ।
पर्वका अवसरमा देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विशेषगरी पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजन र साधुसन्तहरूको उल्लेख्य उपस्थिति देखिएको छ । मन्दिर परिसरमा साधुसन्तहरूले धुनी बालेर आराधनामा बसेका छन् भने देश–विदेशबाट आएका श्रद्धालुले पशुपतिनाथ दर्शन गरिरहेका छन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष करिब आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने चार हजारभन्दा बढी साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको छ । भीड व्यवस्थापनका लागि चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ । बिहान ४ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको जनाइएको छ ।
सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सिसीटिभी निगरानी, मोबाइल गस्ती तथा आपत्कालीन उद्धार टोलीसमेत सक्रिय बनाइएको छ ।
यसैगरी काठमाडौं जिल्ला प्रहरी परिसरले पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । दर्शनार्थीको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ भने खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्र थप गरिएको कोषले जनाएको छ । स्वयंसेवक परिचालन गरी श्रद्धालुलाई सूचना र सहजीकरण प्रदान गरिँदैछ ।
महाशिवरात्रि पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय गरिएको छ । श्रद्धालुलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा ध्यान दिन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।