इन्टलेक्च्युअल एकेडेमीको वार्षिकोत्सव : संस्कारयुक्त शिक्षामा जोड

1.3K

इन्टलेक्च्युअल एकेडेमीको वार्षिकोत्सव : संस्कारयुक्त शिक्षामा जोड

बुटवलस्थित इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार विशेष समारोहका बीच सम्पन्न गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनाबारे चर्चा गरिएको थियो ।
समारोहको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाइ र संस्कारको सन्तुलित संयोजनमार्फत बुटवल क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्यको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले स्वागत मन्तव्य राख्दै विद्यालयको सफलताको आधार विद्यार्थीको बहुआयामिक विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी विद्यार्थीलाई अक्षर चिनाउने मात्र होइन, उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराई असल र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ अघि बढेका छौँ ।”
कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य, बुटवल उपमहानगरपालिकाका शिक्षा अधिकृत मधुसूदन बेलबासे तथा विद्यालयका सल्लाहकार डा. विष्णुप्रसाद शर्माले विद्यालयको प्रगति र शैक्षिक गुणस्तरप्रति प्रशंसा व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद मरासिनीले विद्यालय, अभिभावक र विद्यार्थीबीचको त्रिपक्षीय सहकार्यले मात्र उत्कृष्ट नतिजा सम्भव हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “उत्कृष्ट अंक मात्र हाम्रो लक्ष्य होइन, प्रविधिमैत्री र व्यवहारिक शिक्षामार्फत संस्कारयुक्त समाज निर्माण गर्नु हाम्रो दायित्व हो ।”
वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । साथै एसईई परीक्षामा शतप्रतिशत नतिजा दिलाउन सफल विषयगत शिक्षक तथा उत्कृष्ट कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।
समारोहमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी प्रस्तुत गर्नुका साथै विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
शिक्षकद्वय सिमरन थापा र ब्युटी रसालले सञ्चालन गरेको कार्यक्रममा अभिभावक मञ्जु भट्टराई र कृष्णप्रसाद न्यौपाने, पूर्व विद्यार्थी बिपिन मरासिनी तथा विद्यार्थी अप्सना पराजुली, आयुस्का वि.क. र बोनिसा भुसालले विद्यालयप्रतिको अनुभव र धारणा व्यक्त गर्नुभएको थियो ।