समानुपातिककाे संख्या टुंगियो : संसदमा रास्वपालाई प्रष्ट बहुमत

1.3K

समानुपातिककाे संख्या टुंगियो : संसदमा रास्वपालाई प्रष्ट बहुमत

निर्वाचन आयोगले सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ दलगत रूपमा प्राप्त हुने सांसद संख्या आधिकारिक रूपमा टुंगो लगाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै राष्ट्रिय दलको मान्यता पाएका ६ दलले पाउने समानुपातिक सांसद संख्याबारे जानकारी दिएका हुन् ।
आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सांसद पाउने भएको छ । त्यसैगरी नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६ र नेपाल कम्युनिस्ट पार्टीले ९ सांसद प्राप्त गर्ने भएका छन् । यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४/४ सांसद पाउने आयोगले जनाएको छ ।
आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली तीन दिनभित्र छनोट गरी बुझाउन सम्बन्धित दलहरूलाई जानकारी गराइसकेको पनि जनाएको छ ।
यसअघि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले सर्वाधिक १२५ सिट जितेको छ । नेपाली काँग्रेसले १८, नेकपा एमालेले ९ र नेपाल कम्युनिस्ट पार्टीले ८ सिट जितेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् भने एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको सिट जोड्दा प्रतिनिधि सभामा रास्वपा स्पष्ट बहुमतसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाको कुल सिट संख्या १८२ पुगेको छ । त्यसैगरी नेपाली काँग्रेसको ३८, नेकपा एमालेको २५, नेपाल कम्युनिस्ट पार्टीको १७, श्रम संस्कृति पार्टीको ७ र राप्रपाको ५ सिट पुगेको छ । प्रतिनिधि सभामा एक जना स्वतन्त्र सांसद पनि रहेका छन् ।
यस परिणामले संसदमा रास्वपाको स्पष्ट बहुमत कायम भएको देखाएको छ भने अन्य दलहरू विपक्षी भूमिकामा रहने विश्लेषण गरिएको छ ।