ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउनु भएकाे हाे । राजीनामा बुझाएसँगै प्रधानमन्त्री कार्कीले घिसिङलाई बिदाइ गर्नुभयाे ।
प्रधानमन्त्री कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएकाे थियाे । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री बनेका घिसिङले आफ्नै संरक्षणमा ‘उज्यालो नेपाल’ पार्टी दर्ता गराउनु भएकाे थियाे । त्यसपछि आफू उपसभापति रहनेगरी उज्यालाे नेपाल पार्टीलाई यहि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्नुभएकाे थियाे ।
गैरदलीय सरकारको मन्त्री पदमा रहँदै रास्वपाको राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि घिसिङले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो । सामाजिक सञ्जाल तथा जनस्तरमा मन्त्रीहरूको राजनीतिक सक्रियतामाथि प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले उनलाई राजीनामा दिन आग्रह गर्नुभएकाे थियाे ।