रामराज पोख्रेल /
नेपालमा आगामी फागुन २१ गते (२०८२) हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन केवल सांसद छान्ने प्रक्रिया मात्र होइन, यो हाम्रो लोकतन्त्र कति परिपक्व छ भनेर नाप्ने एउटा महत्वपूर्ण कसी पनि हो । हरेक निर्वाचनसँगै हामीले राजनीतिक परिवर्तनको आशा गर्छौँ, तर दुर्भाग्यवश चुनाव नजिकिँदै जाँदा पुरानै रोग फेरि बल्झिएको देखिन्छ- विपक्षीलाई गाली गर्ने, चरित्रहत्या गर्ने र सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने प्रवृत्ति ।
पछिल्ला केही निर्वाचनमा मैले स्वयं सामाजिक सञ्जालका टिप्पणीहरू पढ्दा र सार्वजनिक बहस सुन्दा एउटा पीडादायी प्रश्न मनमा उठ्ने गर्छ-के हामी अब एजेन्डामाथि बहस गर्न असमर्थ भएका हौँ ? कि सत्ता प्राप्तिका लागि जे पनि जायज ठान्ने संस्कारमा हामी बिस्तारै अभ्यस्त हुँदै गएका हौ ?
आज फेसबुक, टिकटक र एक्स (ट्विटर) विचार आदान-प्रदान गर्ने थलोभन्दा बढी विपक्षीलाई होच्याउने अस्त्र बनेका छन् । तथ्यभन्दा बढी अफवाह, तर्कभन्दा बढी तिक्तता र बहसभन्दा बढी घृणाले स्थान पाइरहेको छ । यस्तो अस्वस्थ प्रतिस्पर्धाले लोकतन्त्रलाई बलियो होइन यसको जग नै कमजोर बनाउँछ ।
नकारात्मक प्रचार भनेको विपक्षीका कमजोरीमाथि गरिने स्वस्थ आलोचना होइन । त्यो त व्यक्तिगत जीवनमा हिलो छ्याप्ने, प्रमाणविहीन आरोप लगाउने र समाजलाई विभाजित गर्ने खालको राजनीति हो । इतिहासले देखाइसकेको छ-यस्ता हतकण्डाले कसैलाई क्षणिक रूपमा जित दिलाउन सक्छ, तर समाजलाई दीर्घकालीन रूपमा हार गराउँछ ।
यसका असरहरू हामीले दैनिक जीवनमै महसुस गरिरहेका छौँ – राजनीतिप्रति वितृष्णा बढ्दो छ, युवाहरू राजनीतिबाट टाढिँदैछन्, र समाजमा आपसी विश्वास कमजोर बन्दै गएको छ । नीतिगत बहस हुनुपर्ने ठाउँमा व्यक्तिगत आरोप-प्रत्यारोप हाबी हुनु लोकतन्त्रका लागि खतराको संकेत हो ।
आजको नेपाली मतदाता हिजोजस्तो केवल नारामा रमाउने अवस्थामा छैन । उसले रोजगारी चाहन्छ, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा चाहन्छ, र सुशासनको अनुभूति गर्न चाहन्छ ।मतदाताको मौन प्रश्न यस्तो छ – तपाईं जितेपछि मेरो जीवनमा के परिवर्तन आउँछ ?, मेरो गाउँ, टोलका समस्या कसरी समाधान गर्नुहुन्छ ?, यी र यस्तै प्रश्नको उत्तर गालीमा होइन, स्पष्ट योजना र विश्वसनीय प्रतिबद्धतामा खोज्नुपर्छ ।
विश्वका धेरै लोकतन्त्रहरूले चुनावलाई शत्रुताको मैदान होइन, एजेन्डाको उत्सव बनाएका छन् । न्युजिल्यान्डमा वैचारिक असहमति भए पनि व्यक्तिगत आक्रमण प्रायः हुँदैन । जर्मनीमा टेलिभिजन बहसहरू आर्थिक नीति, सामाजिक सुरक्षा र जलवायु परिवर्तन जस्ता विषयमा केन्द्रित हुन्छन् ।
यी अभ्यासहरूले एउटा कुरा प्रस्ट पार्छन्- सभ्य समाजमा चुनाव जित्ने मुख्य हतियार विचार, योजना र विश्वसनीयता हुन् ।
फागुन २१ को निर्वाचन मत हाल्ने दिन मात्र होइन, यो हामी कस्तो राजनीतिक संस्कार रोज्छौँ भन्ने निर्णय गर्ने घडी हो । यदि हामीले गाली र घृणाको राजनीतिलाई निरन्तर साथ दियौँ भने, त्यसको परिणाम पनि त्यस्तै तीतो हुनेछ । तर यदि हामीले सभ्य, मर्यादित र नीतिमुखी राजनीतिलाई प्रोत्साहन गर्यौँ भने मात्र लोकतन्त्र बलियो बन्छ । निर्वाचन जित्नु ठूलो कुरा हो, तर जनताको मन जित्नु अझ ठूलो कुरा हो । त्यसैले, यो निर्वाचनलाई गालीको भिडन्त होइन, एजेन्डाको प्रतिस्पर्धा बनाऔँ ।