नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा केवलकार निर्माण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ ।
कम्पनीका अनुसार कुल ३८ लाख १५ हजार २० कित्ता शेयर लिलामीमा राखिएको हो । लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १५० रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी आवेदन दिन सक्नेछन् । आवेदन गर्दा कम्तीमा १ हजार कित्तादेखि अधिकतम उपलब्ध सबै कित्तासम्म माग गर्न पाइने व्यवस्था गरिएको छ ।
यसअघि कम्पनीले कात्तिक ९ देखि मंसिर १५ गतेसम्म १:२.६३ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । सो निष्कासनपछि बाँकी रहेका शेयरलाई लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । लिलामीमा सहभागिता जनाउन इच्छुक लगानीकर्ताले फागुन १२ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।
प्रभु ग्रुप्स अन्तर्गतका विभिन्न संस्थागत लगानीकर्ताको मुख्य लगानी रहेको कम्पनीले आईपीओ जारी गर्ने तयारी समेत अगाडि बढाइसकेको छ । गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने केयर रेटिङ नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ सम्झौता सम्पन्न भइसकेको छ ।
हाल प्रभु केवलकारको लगानीमा बुटवल-पाल्पा क्षेत्रको सिद्धार्थ केवलकार परियोजना सञ्चालनमा रहेको छ । साथै, बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिर क्षेत्रमा नयाँ केवलकार परियोजना निर्माणको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले गुणस्तरीय व्यवस्थापन र सेवाग्राहीमैत्री कार्यप्रणाली अपनाउँदै आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनी हाल ऋणमुक्त अवस्थामा रहँदै निरन्तर नाफामा सञ्चालन भइरहेको दाबी गरिएको छ ।
लिलामी शेयरमा आवेदन दिन चाहने व्यक्ति वा संस्थाले काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आवेदन बुझाउन सक्नेछन् । साथै, कम्पनीको आधिकारिक वेबसाइटमार्फत आवेदन फारम डाउनलोड गरी पनि सहभागिता जनाउन सकिनेछ ।