नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले काँग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएकाे छ । नेपाली काँग्रेस काठमाडौं-५ ले आयोजना गरेको सदस्य भेलामा उहाँले भाद्र २३ र २४ को आन्दोलनपछि काँग्रेस नयाँ यात्रामा प्रवेश गरेको भन्दै अब देश बदल्ने अभियानमा लागेको बताउनु भयाे ।
विगतमा काँग्रेसप्रति असन्तुष्ट मतदातासँग घर-घरमा पुगेर संवाद गर्नुपर्नेमा जोड दिँदै थापाले जेन-जीको आवाज सुनेर काँग्रेस परिवर्तन भएको सन्देश दिन आग्रह गर्नुभयाे । माघको अधिवेशनपछि काँग्रेस सबैभन्दा नयाँ पार्टी बनेको दाबी गर्दै उनले पार्टीभित्र अब पक्ष-विपक्ष नरहेको स्पष्ट पार्नुभयाे ।
सभापति थापाले भागवण्डा र भ्रष्टाचारविरुद्ध काँग्रेस सशक्त रूपमा उभिने उल्लेख गर्दै नयाँ काँग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत पनि फैलाउन आग्रह गर्नुभयाे । साथै उहाँले महामन्त्री प्रदीप पौडेललाई ‘जिम्मेवार विद्रोही’को संज्ञा दिँदै पार्टी रुपान्तरणमा उहाँको महत्वपूर्ण भूमिका रहेको बताउनु भयाे ।