बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारभन्दा पनि हाल प्रवाह भइरहेका सेवाको गुणस्तर, व्यवस्थापन र इमर्जेन्सी सेवा सुधारलाई प्राथमिकतामा राखेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) को मापदण्डअनुसार अस्पतालका सेवा प्रणालीलाई मजबुत र चुस्त बनाउने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार अस्पतालमा बाहिरबाट देखिने संरचनात्मक पक्षभन्दा पनि लजिस्टिक, सप्लाई चेन, जनशक्ति व्यवस्थापन र उपकरण सुदृढीकरणजस्ता सेवा प्रवाहमा नदेखिने पक्षमा सुधार आवश्यक छ । मेसु गौतमले भने–‘अस्पतालले सेवा विस्तार मात्रै होइन, अहिले भइरहेका सेवालाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान केन्द्रित गरिरहेका छौं ।’
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको यो अस्पताल प्रदेशको स्वास्थ्य उपचारको मेरुदण्ड मानिन्छ । दैनिक सेवा लिन आउने बिरामीको संख्या करिब तीन हजार पुगेको अस्पताल प्रशासनको तथ्यांक छ । निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि सरकारी अस्पतालमा थप चाप परेको डा. गौतमले बताए । ‘हामीसँग भएको जनशक्तिलाई कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने अहिलेको ठूलो चुनौती हो । तर यही चुनौतीलाई अवसरका रूपमा लिएर व्यवस्थापन सुधारको काम गरिरहेका छौं,’ उनले भने ।
अस्पतालको इमर्जेन्सी सेवा अपेक्षाअनुसार सञ्चालन हुन नसकेको स्वीकार गर्दै डा. गौतमले इमर्जेन्सीलाई वास्तविक ‘इमर्जेन्सी’ जस्तै बनाउने योजनामा काम भइरहेको बताए । हाल ओपिडी सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ । सातामा दुई दिन विदा दिने सरकारको निर्णयले त्यसपछिको समयमा सेवा सञ्चालनमा व्यवहारिक कठिनाई परेको उनले बताए । बिहान ९ देखि साँझ ५ बजेसम्मको समयमा सेवा प्रवाह राम्रो रहेपनि त्यसपछिको समयका लागि जनशक्ति व्यवस्थापनमा कठिनाई आएको बताउँदै उनले त्यसबाहेकको समयका लागि नयाँ सेवा मोडेलको तयारी भइरहेको बताए । यसका लागि पर्याप्त जनशक्ति आवश्यक पर्ने भन्दै उनले प्रदेश सरकार र संघीय स्वास्थ्य मन्त्रालयसँग थप जनशक्ति व्यवस्थापनबारे गृहकार्य सुरु गरिएको जानकारी दिए ।
डा. गौतमले सातामा दुई दिन बिदा स्वास्थ्यकर्मी र कर्मचारीको हितका लागि राम्रो अभ्यास भए पनि अस्पताल सेवामा व्यवहारिक कठिनाइ हुने बताए । पाँच दिनको सेवा अझ प्रभावकारी बनाउन सकिए राम्रो हुने तर इमर्जेन्सी सेवामा बिरामीलाई समस्या नहोस् भन्ने सुनिश्चित कसरी हुनसक्छ त्यसतर्फ आफूहरुको ध्यान केन्द्रीत भएको पनि उनले बताए ।
अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीबीचको दूरी घटाउन कर्मचारीको बोली–व्यवहार र आचरण सुधारलाई पनि प्राथमिकता दिएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी र चिकित्सकको व्यवहारले समग्र अस्पतालको छवि निर्धारण गर्ने भएकाले नियमित व्यवहारिक तालिम सञ्चालन गर्ने योजना बनाइएको डा. गौतमले बताए । उनका अनुसार सामाजिक उत्तरदायित्व, सेवा गुणस्तर र अस्पतालको सामाजिक अडिटसम्बन्धी विषयमा पनि अस्पताल प्रशासनले छलफल अघि बढाएको छ ।