नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन

1.3K

नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन

नेपालको पहिलो सुरुङमार्ग सडक निर्माण सम्पन्न भएको नामढुङ्गा–सिस्ने खोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको लगायतको उपस्थितिमा आयोजित विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन गरिएको हो ।
उद्घाटनसँगै सुरुङमार्गलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइएको छ । पहिलो दिन आपत्कालीन सेवामा प्रयोग हुने सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिइएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीका सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ । आवश्यक प्राविधिक परीक्षण र सञ्चालनको मूल्याङ्कनपछि सर्वसाधारणका सवारीसाधनका लागि मार्ग खुला गरिनेछ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सेवा शुल्कसमेत निर्धारण गरिएको छ । पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा अन्य गैर–मोटरचालित सवारीसाधनलाई सुरुङमार्ग प्रवेश गर्न नदिइने व्यवस्था गरिएको छ । त्यस्तै, डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि प्रवेश गर्न दिईने छैन ।

शुल्क भुक्तानीलाई सहज बनाउन आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित एन–ट्याग प्रणाली लागू गरिएको छ । सुरुवाती चरणमा एक हजार, दुई हजार र पाँच हजार रुपैयाँ मूल्यका एन–ट्याग उपलब्ध गराइएको आयोजनाले जनाएको छ ।
सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापन पाँच वर्षसम्म युसिन–एआरटी जेभीले गर्नेछ भने निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले एक वर्षसम्म मर्मत–सम्भारको जिम्मेवारी वहन गर्नेछ ।
जापान सरकारको करिब २१.५ अर्ब रुपैंया सहुलियतपूर्ण ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब रुपैंया लगानीमा निर्माण गरिएको यो सुरुङमार्ग करिब ८० महिनाको निर्माण अवधिपछि औपचारिक रूपमा सञ्चालनमा आएको हो । राजधानी प्रवेशद्वारको रूपमा रहेको यस सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा हुने लामो ट्राफिक जाम न्यूनीकरण, यात्रा समय घट्ने तथा यातायातलाई थप सुरक्षित, सहज र आधुनिक बनाउने अपेक्षा गरिएको छ ।