सीप र स्वरोजगारलाई प्राथमिकता दिन अटो मेकानिक्सहरुको जोड

1.3K

सीप र स्वरोजगारलाई प्राथमिकता दिन अटो मेकानिक्सहरुको जोड

सीप र स्वरोजगारलाई प्राथमिकता दिन अटो मेकानिक्सहरुले सरकारसंग आग्रह गरेका छन् । नेपाल अटो-मेकानिक्स ट्रेड युनियन, नगर कमिटी बुटवलकाे तेस्राे अधिवेशनकाे उद्घाटन कार्यक्रममा बाेल्ने वक्ताहरुले अटो मेकानिक्स व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् ।
कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष प्रदीप घिमिरेले विद्युतीय तथा हाइब्रिड सवारीसाधन, कम्प्युटराइज्ड डायग्नोस्टिक प्रणाली र आधुनिक इन्जिन प्रविधिसम्बन्धी तालिम आवश्यक रहेको बताए । त्यसका लागि युनियनले केन्द्रमा पहल गरिरहेकाे बताउदै उनले स्थानीय तथा प्रदेश सरकारदाई समेत यस विषयमा गम्भिर भएर साेच्न आग्रह गरे ।
त्यस अवसरमा नगर अध्यक्ष गणेश भट्टराईले प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्दै अटो क्षेत्रको बदलिँदो प्रविधिअनुसार प्राविधिकको सीप विकास, नियमित तालिम, व्यवसायको स्तरोन्नति र युवालाई स्वरोजगार बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताए । उनले सवारीसाधनको संख्या बढ्दै गए पनि सोहीअनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन हुन नसकेको उल्लेख गरे ।
संस्थाको पहिचान र दीर्घकालीन गतिविधिलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको भवनलाई तालिम केन्द्रका रुपमा विकास गरि सरकारी निकायका तालिममा समेत जाेड दिए ।
सीप विकासका क्षेत्रमा युनियनले विभिन्न संस्थासँग सहकार्य गरी तालिम सञ्चालन गरेको छ । केन्द्रको प्राविधिक प्रशिक्षण भवनमा मोटरसाइकल मेकानिक्स लेभल-१ र लेभल-२ लगायतका तालिम सञ्चालन गरिएको छ । इन्स्योर परियोजना तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा १९६ घण्टे तालिम सञ्चालन गरी १२० जना प्रशिक्षार्थीलाई सहभागी गराइएको अध्यक्षले जानकारी दिए ।

त्यस्तै, हेभी इक्विपमेन्ट तथा विद्युतीय सवारीसाधनसम्बन्धी तालिम र अनलाइन माध्यमबाट सञ्चालन गरिएका कार्यक्रममार्फत थप २४० जना मेकानिक्सको सीप तथा दक्षता अभिवृद्धि गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपाली सेना तथा सशस्त्र प्रहरीका प्राविधिक जनशक्तिलाई समेत बीएस-४, बीएस-६ र हेभी इक्विपमेन्टसम्बन्धी तालिम प्रदान गरिएको उनले बताए ।
स्रोतसाधनको अभावमा प्राविधिक प्रशिक्षण कार्यक्रमलाई नियमित र दीर्घकालीन बनाउन नसकिएको अध्यक्ष भट्टराईकाे भनाई छ । प्रशिक्षण भवनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार तालिम प्राप्त युवालाई आवश्यक उपकरण, व्यवसाय सञ्चालनसम्बन्धी परामर्श र सहुलियत ऋणको व्यवस्था गर्न सके स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ ।
कार्यक्रममा बुटवल उद्याेग वाणिज्य संघकाे नवनिर्वाचित सिंगाे कार्यसमितिलाई सम्मान गरिएकाे छ । त्यस्तै अटो मेकानिक्स क्षेत्रमा लामो समय योगदान पुर्‍याएका मेकानिक्स सुनबहादुर बगाले र महिला मेकानिक्स शान्ति नेपालीलाई सम्मान गरिएकाे छ ।