स्थानीय तह र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव : दलहरूसँग छलफल

1.3K

स्थानीय तह र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव : दलहरूसँग छलफल

निर्वाचन आयोगले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्दै राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक तयारीका विषयमा परामर्श गरेको हो । छलफलमा स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेश सभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारिएको छ ।
आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै समयमा गर्ने विषयमा समेत दलहरूको धारणा मागेको थियो । निर्वाचनको आर्थिक भार, व्यवस्थापकीय सहजता र व्यावहारिक पक्षलाई ध्यानमा राखेर आयोगले प्रस्ताव प्रस्तुत गरेको हो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका प्रतिनिधि तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए ।
छलफलपछि नेताहरूले आयोगको प्रस्तावमाथि पार्टीभित्र थप छलफल गरेर धारणा दिने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले स्थानीय तह र प्रदेश सभा निर्वाचनको समयबारे आयोगले राखेको प्रस्ताव सकारात्मक रहेको जनाउँदै यस विषयमा पार्टीमा थप छलफल गरिने बताएका छन् ।
नेताहरूले निर्वाचनको मिति निर्धारण गर्दा संविधान र कानुनी व्यवस्थालाई आधार बनाउनुपर्ने तथा दुवै तहको निर्वाचन एकैपटक गर्दा हुने आर्थिक तथा व्यवस्थापकीय प्रभावबारे पनि विचार गर्नुपर्ने धारणा राखेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते पूरा हुँदैछ । प्रदेश सभा सदस्यहरूको कार्यकाल पनि २०८४ चैत ५ गते सकिँदैछ । कार्यकाल समाप्त हुनुअघि निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार आयोगले निर्वाचनको तयारी र मिति निर्धारणका लागि राजनीतिक दलहरूसँग परामर्श थालेको हो । आयोगले दलहरूसँगको छलफल र सुझावका आधारमा निर्वाचनको थप तयारी अघि बढाउने जनाएको छ ।