मानसिक स्वास्थ्य सेवालाई रोगको पहिचान र औषधि उपचारमा मात्र सीमित नराखी व्यक्तिको सोच, भावना, अनुभव, सामाजिक परिवेश र मानवीय संवेदनालाई समेत समेटेर अघि बढाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
मनोचिकित्सक संघ नेपालको १२औँ राष्ट्रिय सम्मेलन ‘प्यानकन लुम्बिनी २०२६’ को उद्घाटन सत्रमा बोल्ने विज्ञहरूले मानसिक स्वास्थ्यलाई विविध दृष्टिकोणबाट बुझ्दै व्यक्ति केन्द्रित, समावेशी र मानव अधिकारमा आधारित सेवा विकास गर्नुपर्ने बताएका हुन् ।
‘विविध मन, विविध अभिव्यक्ति : दृष्टिकोणका विविधता र स्थापित सीमाभन्दा पर मानसिक स्वास्थ्यको बुझाइ’ भन्ने मूल नारासहित आयोजित सम्मेलनको उद्घाटन डा. सुरेन्द्र शेरचनले गरेका थिए ।
संघका अध्यक्ष प्रा. डा. सन्दिप सुवेदीले मानसिक स्वास्थ्यसम्बन्धी परम्परागत सोच र चिकित्सकीय सीमाभन्दा माथि उठेर व्यक्तिको जीवनकथा, सामाजिक अवस्था, संस्कृति र संवेदनालाई बुझ्नुपर्ने बताए । नेपालमा मानसिक रोगको बढ्दो भारसँगै आत्महत्या, लागूपदार्थ तथा मदिराको दुरुपयोग, बेरोजगारी, वैदेशिक रोजगारी र प्राकृतिक विपद्का कारण मानसिक स्वास्थ्यका चुनौती थपिँदै गएको उनको भनाइ थियो ।
मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्राथमिक स्वास्थ्य सेवाकै तहबाट उपचारको पहुँच विस्तार, दक्ष जनशक्ति उत्पादन र समुदायमा आधारित सेवा विकास गर्नुपर्ने उनले बताए । यो क्षेत्र कुनै एक व्यक्ति वा पेसाको मात्र जिम्मेवारी नभएकाले मनोचिकित्सक, मनोवैज्ञानिक, नर्स, सामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी र नीतिनिर्माताबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
सम्मेलन संयोजक मौसमी थापाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना हुनु विशेष अर्थपूर्ण रहेको बताइन् । लुम्बिनीको शान्ति, करुणा र मानवताको सन्देशलाई मानसिक स्वास्थ्य उपचार तथा चिकित्सकीय अभ्यासमा समेत आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।
सम्मेलनका वैज्ञानिक समितिका अध्यक्ष डा. सरस्वती ढुंगानाले शैक्षिक उत्कृष्टता, अनुसन्धान, नीतिगत पैरवी र व्यावसायिक सहकार्यबाट नेपालको मानसिक स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइन् । उनका अनुसार सम्मेलनमा विज्ञ प्रस्तुति, गोष्ठी, कार्यशाला, मौखिक तथा पोस्टरमार्फत अनुसन्धान प्रस्तुति र आवासीय चिकित्सकका अनुसन्धान समेटिएका छन् ।
सम्मेलनमा मानसिक स्वास्थ्यका विभिन्न समसामयिक विषयमा छलफल तथा अनुसन्धान प्रस्तुति भइरहेका छन् । औषधिले आत्महत्याको जोखिम बढाउँछ कि बढाउँदैन, डिमेन्सियाको पहिचान तथा व्यवस्थापन, बसाइँसराइले मानसिक स्वास्थ्यमा पार्ने प्रभावलगायत विषयमा विज्ञहरूले धारणा राखेका छन् ।
प्राध्यापक डा. रवि शाक्यले मानसिक स्वास्थ्यलाई विविध दृष्टिकोणबाट बुझ्नुपर्ने विषयमा व्याख्या गरेका थिए । त्यस्तै, प्राध्यापक डा. प्रमोद मोहन श्याङ्वाले बसाइँसराइ र मानसिक स्वास्थ्यको अन्तर्राष्ट्रिय अवस्था तथा स्थानीय प्रभावबारे प्रस्तुत गरेका थिए ।
सम्मेलनमा गाँजाको प्रयोग र कानुनी व्यवस्थापन, मनोचिकित्सामा यौनमनोवैज्ञानिक दृष्टिकोण, आत्महत्या रोकथाम, महिला तथा सुत्केरीपछिको मानसिक स्वास्थ्य, बालबालिकामा स्क्रिनको प्रभाव, चिकित्सकको मानसिक स्वास्थ्य र चिकित्सा शिक्षामा मनोचिकित्साको अध्यापन तथा तालिमलगायत विषयमा सत्र सञ्चालन गरिएको संघका महासचिव डा. रचना शर्मा बस्नेतले जानकारी दिइन् ।
त्यस्तै, न्युरोआर्ट कार्यशालामार्फत मानसिक स्वास्थ्य र मनोवैज्ञानिक पुनःस्थापनामा कलाको प्रयोगबारे अभ्यास गरिएको थियो । हेपाटाइटिस सी परीक्षण, लिथियम औषधिको प्रयोग, मदिरा सेवन त्याग्दा कलेजोका इन्जाइममा पर्ने प्रभाव र सिजोफ्रेनियामा बिरामीको आत्मबोधलगायत विषयमा अनुसन्धानमूलक प्रस्तुति पनि समावेश छन् । सम्मेलनमा नेपाल र भारतसहितका देशबाट २५० भन्दा बढी चिकित्सक सहभागी छन् ।
यसैबीच, बाल तथा मनोचिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका डा. अरुणराज कुँवरलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । टेलिमेडिसिन तथा समुदायमा आधारित मानसिक स्वास्थ्य सेवा सुरु गर्न योगदान दिएका कुँवरले दुई हजारभन्दा बढी चिकित्सक र चार सय नर्सलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गर्न सहजीकरण गरेका थिए । बाल न्याय प्रणाली तथा बाल स्वास्थ्य क्षेत्रको सुधारमा समेत उनको योगदान रहेको छ ।
त्यस्तै, मानसिक स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि प्रा. डा. प्रमोद मोहन श्याङ्वालाई डा. विष्णुप्रसाद शर्मा अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रममा प्रा. डा. टीएसएस रावद्वारा लिखित पुस्तकसमेत विमोचन गरिएको थियो ।