रुपन्देहीको तिलोत्तमामा भाेली मंसिर ३ गतेदेखि आयोजना हुने चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भाेली बिहिबारदेखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका-५, मणिग्राममा ‘नवाैं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सव-२०८३’ सञ्चालन गर्न लागिएको हो ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना हुने मेलामा औद्योगिक तथा स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार विस्तार र आर्थिक गतिविधि बढाउने लक्ष्य लिइएको छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघले बुधबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि मेलाकाे तयारी पूरा भऐकाे जानकारी गराएकाे हाे ।
मेलाकाे भाेली दिउसाे १ बजे तिलाेत्तमा गरपालिकाका नगरप्रमुख रामकृष्ण खाण ले उद्घाटन गर्ने छन् । त्यस्तै भाेली बिहान १० बजे शाेभा कलश यात्रा गरिने छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै औद्योगिक तथा व्यावसायिक गतिविधि चलायमान बनाउन मेला आयोजना गरिएको बताए । उनका अनुसार मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको संरक्षकत्व, वन, वातावरण तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेशको प्रवर्द्धन तथा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठनको सहआयोजनामा हुने मेलामा करिब ३२५ स्टल रहनेछन् ।
भारतसंगकाे व्यवसायिक कनेक्टिभिटिलाई प्रभावकारी बनाएर व्यवसायिक लाभ लिन सकिन्छ । मेलामा भारतसंगकाे व्यवसायिक कनेक्टिभिटिसंगै बुद्ध सर्किट तथा जानकी सर्किटकाे बिकास र विस्तारमा जाेड दिइएकाे छ ।
१४ दिनसम्म सञ्चालन हुने मेलामा ५ लाख दर्शक र १२ कराेडकाे आर्थिक काराेवार हुने अनुमान गरिएकाे पनि उनले बताए । औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी एवं बिक्री मुख्य आकर्षणका रूपमा रहने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले बताए । उनका अनुसार कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि मेलामा समेटिएका छन् ।
मेलामा मनोरञ्जनका लागि पनि विभिन्न आकर्षण छन् । संघका महासचिव तथा मेला प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटरफल, चरखे पिङ, ३६० डिग्री झुला र जिरो ग्राभिटी झुला मेलाका विशेष आकर्षण हुनेछन् ।

त्यसैगरी पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैलीमा निर्माण गरिने मुख्य प्रवेशद्वारले पनि आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम र बालउद्यान मेलाका थप आकर्षण हुनेछन् ।
तिलोत्तमाको पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका पर्यटकीय गन्तव्यको पहिचान झल्किने पर्यटन ग्यालरीसमेत राखिनेछ । यसले स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
मेलालाई व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, श्रम तथा वातावरणीय सचेतनासँग जोड्ने कार्यक्रमसमेत तय गरिएको छ । जलवायु परिवर्तन र त्यसका प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । विद्यार्थीलाई उद्यमशीलताप्रति प्रेरित गर्ने गतिविधिका साथै हरेक दिन सफल उद्यमीका अनुभव र प्रेरणादायी मन्तव्य प्रस्तुत गरिनेछ । विभिन्न समसामयिक तथा व्यावसायिक विषयमा प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
मेलामा श्रम डेस्क स्थापना गर्नुका साथै श्रम अडिटको कार्यक्रम पनि राखिएको छ । यसबाट उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्ध तथा श्रमसम्बन्धी विषयमा जानकारी र सहजीकरण हुने अपेक्षा गरिएको छ ।
मेला व्यवस्थित रूपमा सञ्चालन गर्न संघले पदाधिकारी तथा कार्यसमिति सदस्यलाई विभिन्न जिम्मेवारीसमेत बाँडफाँट गरेको छ । आयोजकले मेलालाई उद्योग, व्यापार, कृषि, पर्यटन र प्रविधिको साझा प्रदर्शनीका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
मेला अवलाेकनमा आउने सर्वसाधारणलाई १ सय रुपैंया शुल्क र अर्काे विशेष समयका लागि विशेष टिकटकाे व्यवस्था गरिएकाे छ । जेष्ठ नगरिक, अपाङ्गता भएकाहरुलाई निशुल्क प्रवेशकाे व्यवस्था मिलाइएकाे छ ।