दिल्ली पुगे प्रधानमन्त्री शाह : भारतीय राज्यमन्त्री जितिनले गरे स्वागत

1.3K

दिल्ली पुगे प्रधानमन्त्री शाह : भारतीय राज्यमन्त्री जितिनले गरे स्वागत

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री शाह सवार नेपाल वायुसेवा निगमको विमान नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारलगायत ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भ्रमणमा सहभागी छ । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली पनि भारत गएको छ ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ । त्यहाँ साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणको दोस्रो दिन भाेली मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाट हुनेछ । बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । त्यसअघि दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ ।
नेपालका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ । यस क्रममा ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यका लागि समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।
भाेली नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्नेछन् । त्यसपछि अपराह्न ४ बजेर ५० मिनेटमा उनी स्वदेश फर्कने तालिका रहेको छ ।
नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहित र द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहेको जनाएको छ ।