नेपाल प्रेस युनियनले १०औँ केन्द्रीय महाधिवेशन आगामी माघ १६ र १७ गते काठमाडौंमा गर्ने भएको छ ।
नेपाल प्रेस युनियनकाे नवलपरासीको सुस्तामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
युनियनका अध्यक्ष शिव लम्सालकाे अध्यक्षतामा बसेकाे बैठकले यसअघि बाँकी रहेका शाखाहरूको अधिवेशन मंसिर ३० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त मितिमा अधिवेशन सम्पन्न गर्न नसक्ने शाखालाई प्रदेश तथा संघीय महाधिवेशनमा सहभागी नगराउने निर्णयसमेत बैठकले गरेको छ ।
त्यसैगरी, प्रदेश समितिका अधिवेशन पुस १६ देखि २५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । शाखा र प्रदेश अधिवेशन सम्पन्न गर्दै संगठनलाई थप सुदृढ बनाएर संघीय महाधिवेशनमा जुट्ने बैठकले निर्णय गरेको छ ।
बैठकले संगठनका गतिविधिको समीक्षा गर्दै अधिवेशन सम्पन्न भएका शाखालाई संगठन विस्तार, सुदृढीकरण र नियमित गतिविधि सञ्चालन गर्न निर्देशनसमेत दिएको छ ।
बैठकपछि युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको विज्ञप्तिमा महाधिवेशनको मिति र संगठनात्मक निर्णय सार्वजनिक गरिएको छ । बैठकले पत्रकारमाथि बढ्दो हस्तक्षेप, धम्की र दबाबका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेको छ ।
बैठकले पत्रकार तथा सञ्चारकर्मीमाथि हुने धरपकड, धम्की र विभिन्न दबाब सिर्जना गर्ने कार्य तत्काल बन्द गर्न तथा यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । साथै, सरकारी सञ्चारमाध्यमबाट राजनीतिक प्रतिशोधका आधारमा पत्रकारलाई निष्कासन गर्ने कार्य रोक्न र निष्कासित पत्रकारको न्यायोचित पुनर्बहाली गर्न आग्रह गरेको छ ।
त्यसैगरी, निजी सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई श्रमअनुसारको पारिश्रमिक नियमित उपलब्ध गराउने व्यवस्था मिलाउन बैठकले जोड दिएको छ । पत्रकारको पेसागत सुरक्षा, श्रम अधिकार र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श गरी लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्न सरकारलाई आग्रह गरिएको छ । निजी सञ्चारमाध्यमले प्राप्त गर्ने लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती गर्ने निर्णयको विरोध गर्दै त्यसलाई सुविधा कटौतीको नियतबाट नभई सञ्चारमाध्यम संरक्षणको नीतिअनुसार अगाडि बढाउन माग गरिएको छ ।