बुटवलको धागो कारखानामा सञ्चालन गरिएको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत ५ जनाको अक्सिजनको अभावमा मृत्यु भएको छ ।
समयमा अक्सिजन आपूर्ति नहुँदा आईसीयुमा उपचार गराईरहेका ४ जना पुरुष र १ जना महिलाको ज्यान गएको हो । अस्पतालका सूचना अधिकृत विष्णु गौतमका अनुसार त्यसरी मृत्यु हुनेमा बुटवल–८ का २९ वर्षीय पुरुष, बुटवल– ११ का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बर्दघाटकी ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतालको आईसीयूमा १६ जनाले उपचार लिईरहेका थिए । तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो । अस्पतालका अनुसार समयमा अक्सिजन आपूर्ति नभएकै कारण उनीहरुको मृत्यु भएको हो । यो सहित बुधबार मात्रै रुपन्देही जिल्लामा १६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
