प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सहकार्यमा अघि बढाइएका तथा दुई देशलाई जोड्ने ६ वटा महत्वपूर्ण परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको संयुक्त रूपमा शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने यो आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा बन्नेछ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो ।
त्यसैगरी, नेपाल–भारत व्यापार तथा पारवहन पूर्वाधारलाई थप सुदृढ बनाउने उद्देश्यले बनवासा सुक्खा बन्दरगाहको शिलान्यास गरिएको छ । भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा झापामा टर्मिनल निर्माणको पनि शिलान्यास भएको छ ।
यसै अवसरमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाललाई हस्तान्तरण गरिएको छ । दुई प्रधानमन्त्रीले धार्चुला–दार्चुला जोड्ने पक्की पुलको पनि उद्घाटन गरेका छन् ।
भ्रमणका क्रममा धार्मिक पर्यटन र दुई देशबीचको सांस्कृतिक सम्बन्ध विस्तार गर्ने अर्को महत्वपूर्ण उपलब्धिका रूपमा भारतको अयोध्या र नेपालको जनकपुरधाम जोड्ने सरयू–कमला एक्स्प्रेस रेल सेवाको उद्घाटन गरिएको छ । रामायण सर्किट परियोजनाअन्तर्गत सञ्चालनमा ल्याइएको यो रेल सेवाले दुवै देशका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेल सम्पर्कमा जोडेको छ ।
अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुरधाम जाने रेललाई बिदाइ गरेका थिए ।
भारतीय रेलवे विभागले यसअघि नै जनकपुरधाम र उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको थियो । करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले नेपाल–भारतबीचको धार्मिक पर्यटन, तीर्थयात्रा र सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
भारतीय रेल मन्त्रालयका अनुसार रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ । निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुट्ने रेल जनकपुरधाम फर्कनेछ ।
यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएका यी परियोजनासम्बन्धी निर्णय र उद्घाटनले ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार तथा धार्मिक पर्यटनका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।