‘पत्रकार कोरोना तथा आपतकालिन कोष’मा साढे सात लाख सहयोग प्रतिवद्धता

1.3K

‘पत्रकार कोरोना तथा आपतकालिन कोष’मा साढे सात लाख सहयोग प्रतिवद्धता

नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ मा साढे सात लाख रुपैंयाको प्रतिवद्धता आएको छ ।
रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताउनु भयो ।
उहाँका अनुसार स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसमध्ये २ लाख ५० हजार रुपैंया कोषमा प्राप्त भईसकेको छ ।
कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि भविष्यमा आउन सक्ने सम्भावित संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाईन बैठकले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको थियो । कोष स्थापना गरिएको छोटो समयमै सोंचेभन्दा सहज रुपमा रकम जम्मा भएको महासंघ रुपन्देहीका उपाध्यक्ष तथा कोषका संयोजक ढकाल बताउनु हुन्छ ।
कोरोना महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केहि हदसम्म भएपनि कोष मार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताउनु भयो । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरुलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई उपयोग गरिने सचिव बिनोद परियारले बताउनु भयो ।
कोषमा सहयोग गर्ने व्यक्ति तथा संस्थाको नाम केही समयपछि सार्वजनिक गरिने बताईएइको छ । हालसम्म रुपन्देही जिल्लामा २१ जना पत्रकार कोरोना संक्रमित भएका छन् । यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरि स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ ।