नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एमालेसंगको चुनावी तालमेल काँग्रेसले गर्ने व्यवहारमा भर पर्ने बताउनु भएको छ । उहाँले तत्काल एमालेसंगको चुनावी तालमेलको सम्भावना नदेखिएपनि काँग्रेसले गर्ने व्यवहारमा पनि भर पर्ने बताउनु भयो ।
प्रेस सेन्टर नेपाल लुम्बिनीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो–‘तत्काल एमालेसँग सहकार्यको सम्भावना त देखिएको छैन, काँग्रेसका केही नेताहरुले तालमेल हुँदैन भनेर बोल्न थाल्नुभएको छ, यसरी नै काँग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’
उहाँले राजनीतिमा अनेक सम्भावना रहने भएकाले काँग्रेसले पाखा लगाउन खोजे अरु दलहरुसंग मिलेर अगाडि बढ्नसक्ने बताउनु भयो । काँग्रेसका केही नेताहरु चुनावी तालमेलको विपक्षमा देखिएपनि सभाति शेरबहादुर देउवा सकारात्मक भएकाले सत्तारुढ दलहरु बिचमा केही स्थानमा भएपनि चुनावी तालमेल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चुनावमा माओवादी सकेसम्म एक्लै र आफ्नै तागतले चुनाव जित्ने प्रयत्नमा रहने पनि बताउनु भयो ।