ठूला दरका भारतीय नोट चल्न दिन व्यवसायीको माग

156

ठूला दरका भारतीय नोट चल्न दिन व्यवसायीको माग

ठूला दरका भारतीय नोट नेपालमा चल्न दिनुपर्ने उद्योगी व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको अर्थसमितिमा बजेटका लागि सुझाव दिन गएका उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
कालो धन नियन्त्रणका लागि भन्दै भारतीय रिजर्ब बैंकले भारु ५ सय र २ हजारको नोटमा प्रतिबन्ध लगाएको थियो । नोटबन्दीपछि प्रचलनमा आएका ठूला दरका उक्त नोटहरु नचल्ने राष्ट्र बैंकले बताएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लका अनुसार ५ सय र २ हजारका भारतीय नोट चल्न दिंदा नेपाललाई फाइदा हुन्छ । अहिले साना दरका भारु नोट मात्रै नेपालमा चल्ने गरेका छन् ।
भारतले नोटबन्दी गर्दा अहिले पनि ७ करोड भन्दा धेरै भारु नोट साट्न नपाएर राष्ट्र बैंकको ढुकुटीमा थन्किएका छन् । यस कारणले पनि राष्ट्र बैंकले नयाँ भारतीय नोटलाई चल्न दिएको छैन ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् महासंघको कर तथा राजस्व समितिका सभापति सन्दिप अग्रवालले पनि ५ सय र २ हजारका भारु चल्न दिनुपर्ने बताउनुभयो । यसले भारतीय पर्यटकहरुलाई सहज बनाउने उहाँको भनाइ छ ।