प्रगतिनगर सामुदायिक विद्युत सहकारीको अध्यक्षमा जीतबहादुर मल्ल निर्वाचित

1.3K

प्रगतिनगर सामुदायिक विद्युत सहकारीको अध्यक्षमा जीतबहादुर मल्ल निर्वाचित

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लि. बुटवलको अध्यक्षमा पुनः जीतबहादुर मल्ल निर्वाचित हुनु भएको छ । संस्थाको आईतबार सम्पन्न अधिवेशनबाट अर्का उम्मेदवार वीरबहादुर कुवँरलाई पराजित गर्दै अध्यक्ष पदमा मल्ल निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा निर्वाचित मल्लले ५१४ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रतिस्पर्धी कुवँरलाई ४७१ मत प्राप्त भएको थियो । निर्वाचनमा कुल १ हजार ४३४ मतदाता मध्ये १ हजार ३२ मत खसेको थियो ।
संस्थाको उपाध्यक्ष पदमा बाहेक बाँकी सबै पदमा मल्लको प्यानलबाट उम्मेद्वारी दिएका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्ष पदमा मल्ल प्यानलका राजकुमार तेली गुप्ता र कुवँर प्यानलका कैलाशबहादुर खड्की दुबै उम्मेद्वारलाई समान ४८२ मत प्राप्त भएको छ । संस्थाको पाँचौं साधारण सभा तथा दोस्रो अधिवेशन अन्तरगत भएको निर्वाचनमा मल्ल र कुँवरले समुहगत रुपमा उम्मेदवारी दिएका थिए ।
संस्थाको सचिव पदमा ४८३ मत सहित घनश्याम पाण्डे, कोषाध्यक्ष पदमा ४९९ मत सहित नारायण सारु विजयी हुनुभएको छ । त्यस्तैगरी कार्यसमिति सदस्य पदमा कृष्णबहादुर क्षेत्री (४८२), तुलकबहादुर थापा (४९०), धर्मसिंह लाम्काने मगर (४८०), टिकाराम सुनार (४९६), केशवप्रसाद श्रेष्ठ (४८५), सीता दर्जी (४७१), ताराकुमारी श्रेष्ठ (४७७), केशवकुमार पुन (४७७), प्रेमबहादुर श्रेष्ठ (४७९) मत सहित विजयी हुनु भएको छ ।
त्यस्तैगरी लेखा समितिमा पनि मल्ला प्यानलकै उम्मेदवार विजयी भएका छन् । लेखा समितिको् संयोजकमा मल्लको प्यानलबाट उम्मेदवारी दिएका राजेशबहादुर बुढाथोकी ४८९ मत ल्याएर विजयी हुनु भएको छ । त्यस्तै लेखा समितिको सदस्य पदमा ४८४ मत सहित विमला तरामु मगर र ४७२ मत सहित तारा पोखरेल थापा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले जानकारी दिनुभयो ।