सहकारीको स्थापना दिवसमा सडक सरसफाई

152

सहकारीको स्थापना दिवसमा सडक सरसफाई

मदन शर्मा /
बुटवल उपमहानगरपालिका वडा नं. १६ सेमलारमा सञ्चालित नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा सडक सरसफाई गरिएको छ । सहकारीको १६ औं स्थापना दिवस तथा ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार बिहान समेलारको मधैया चोकदेखि केलादी चोकसम्म करिव १ किलोमिटर सडक सरसफाई गरिएको हो ।
२०६३ सालको चैतमा २५ जना महिलाबाट उक्त सहकारी सुरु गरिएको थियो । संस्थाकी अध्यक्ष थमाकुमारी अधिकारीले संस्थाको सुरुवाती चरणमा विभिन्न कठिनाई झेल्दै आजको दिनसम्म आईपुगेको बताउनु भयो । संस्थाले सामाजिक उत्तरदायित्व बहन गरि विभिन्न प्रकारका सामाजिक काम गर्दै आएको र अहिले विभिन्न संघसंस्थाबाट पुरस्कृत हुन पाउँदा खुसी लागेको उहाँले बताउनु भयो । संस्थालाई सामाजिक कार्यमार्फत अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउने लक्ष्य आफूले लिएको र त्यसको लागि संस्थाका शेयर सदस्य तथा स्थानीय दिदीबहिनीकोे साथ र सहयोगको आशा र विश्वास व्यक्त गर्नुभयो ।
सडक सरसफाई पछि आयोजित कार्यक्रममा संस्थाकी सल्लाहकार तथा निवर्तमान अध्यक्ष चम्पा रेग्मीले संस्थाले सदस्यहरुको बृत्ति विकाससंगै सामाजिक कार्यमा अग्रसर रहन र सूचनाको माध्यमलाई अझै प्रभावकारी बनाउन सुझाव दिनुभयो । यसले संस्थालाई थप उचाईमा पुर्याउन टेवा पुग्ने उहाँको भनाई छ ।

संस्थाकी सञ्चालक समिति सदस्य तथा सरसफाई अभियान नयाँगाउँकी संयोजक मीना जिसी (घर्ती)ले छोटो समयमा गरिएको सूचनाका बावजूद पनि संस्थालाई माया गर्ने महिलाहरुको सक्रियताले संस्थाको गरिमा अझै माथी उठेको भनाई राख्नुभयो । उहाँले सरसफाई मानिसको व्यक्तिगत मात्रै नभएर त्यस समाजको पहिचान पनि भएकाले व्यक्तिगत तथा समाजको सरसफाईमा पनि उत्तिकै ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । दुर्गा भवानी आमा समूहकी अध्यक्ष एवं संस्थाकी शेयर सदस्य रमा पराजुलीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
हाल ३ हजार ९४५ जना शेयर सदस्य रहेको उक्त सहकारी संस्थामा २९ करोड बढी शेयर पुँजी रहेको संस्थाकी व्यवस्थापक मञ्जु गोदारले जानकारी गराउनु भयो । उहाँका अनुसार संस्थाले महिला सशक्तिकरणका लागि शेयर सदस्यहरुलाई लक्षित गरेर समयसमयमा सीपमुलक तालिम तथा त्यससंग सम्बिन्धित जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । कार्यक्रम संस्थाकी उपाध्यक्ष जमुना उपाध्यायको स्वागत तथा व्यवस्थापक मञ्जु गोदारको सञ्चालनमा भएको थियो ।