श्रीलंकाले लगायो सामाजिक सञ्जालमा प्रतिबन्ध, कर्फ्यु उल्लंघन गर्ने ६६४ जना पक्राउ

151

श्रीलंकाले लगायो सामाजिक सञ्जालमा प्रतिबन्ध, कर्फ्यु उल्लंघन गर्ने ६६४ जना पक्राउ

श्रीलंकामा सरकारले लागू गरेको कर्फ्यु उल्लंघन गरेको आरोपमा कम्तीमा ६ सय ६४ जनालाई पक्राउ परेका छन् । स्थानीय समय अनुसार शनिबार राति १० बजेदेखि आइतबार बिहान ६ बजेको बीचमा देशको पश्चिमी प्रान्तबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घन्टे कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लागू भएका वेला अनुमतिविना हिँडडुल गर्न नपाइने भए पनि हिँडडुल गरेकाले उनीहरूलाई पक्राउ गरिएको वरिष्ठ प्रहरी निरीक्षक निहाल थाल्डुवाले जानकारी दिनुभयो ।
त्यस्तै कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ । प्रदर्शन रोक्नका लागि सेनालाई बिना वारेन्ट पक्राउ गर्ने अधिकार पनि दिइएको छ ।
बीबीसीका अनुसार श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान पनि निषेध गरिएको आदेश जारी गर्नुभएको छ ।
सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका पछिल्लो समय चरम आर्थिक संकटमा रहेको छ । विदेशी मुद्राको अभावले इन्धन खरिद गर्न नसक्दा यहाँ इन्धन, खाद्यन्न, औषधि लगायतको अभाव भएको छ ।