रुपन्देही जिल्लामा हालै सरुवाभई आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको छ । उहाँको स्वागतमा संघमा आयोजना गरिएको कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, चोरी नियन्त्रण, औद्योगिक तथा व्यवसायिक वातावरणलाई चुस्त बनाउन आग्रह गरिएको थियो ।
त्यस अवसरमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा गरेको योगदानको बारेमा जानकारी गराउँदै यहाँको शान्ति सुरक्षा, चोरी नियन्त्रण तथा उद्योगी तथा व्यवसायीहरुले शान्ति सुरक्षाको अनुभूति गर्नेगरी सुरक्षा रणनीति लिन आग्रह गर्नुभयो ।
त्यस्तैगरी संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैंजूले शान्ति सुरक्षालाई चुस्त बनाउनको लागि ईलाका प्रहरी कार्यालय बुटवलमा थुनुवा कक्ष, विभिन्न स्थानमा प्रहरी विट निर्माणमा सहयोग गरेको र प्रविधिबाट सहयोग पु¥याउनको लागि बुटवलका विभिन्न स्थानमा सिसिटिभी जडान गरिएको जानकारी गराउनु भएको थियो । उहाँले शान्ति सुरक्षाको पाटोमा राम्रो प्रवन्ध मिलाउनको लागि आग्रह गर्दै आशा र विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी रेग्मीले समाजको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीको भएको उल्लेख गर्दै त्यसको लागि आफू प्रतिवद्ध भएको बताउनु भयो । उहाँले शान्ति सुरक्षा लगायतका विषमा कुनै त्यस्ता शंकास्पद गतिबिधि तथा अपराधिक कृयाकलाको बारेमा समेत प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु, कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।
