रोटरी तिलोत्तमा रुपन्देहीद्वारा ज्योती आधारभूत विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना

1.3K

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा ज्योती आधारभूत विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले रुन्देहीको तिलोत्तमा–८ मा रहेको ज्योती आधारभूत विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरिदिएको छ । विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेगरि क्लवले १ लाख ११ हजार रुपैंयाको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएको हो ।
उक्त अक्षयकोषको लागि क्लवको एघारौं चार्टर नाईट (स्थापना दिवस)को अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईले विद्यालयका प्रधानाध्यापक दिलबहादुर थापालाई १ लाख ११ हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।
क्लवका अध्यक्ष चापाईले आफ्नो स्वर्गीय बुवा नन्दलाल चापागाईको स्मृतिमा प्रत्येक वर्ष २ जनालाई छात्रबृत्ति प्रदान गर्नेगरी छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको बताउनु भयो । क्लवको चार्टर नाईट कार्यक्रममा क्लवका संस्थापक (चार्टर) सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै क्लवकी एसाईन एसिस्टेन्ट गभर्नर देवी गुरुङले छोटो समयमा रोटरी तिलोत्तमा रुपन्देहीले समाजमा देखिनेगरी काम गर्न सफल भएको बताउँदै आगामी दिनमा अझ राम्रा र रचनात्मक काम गर्न सुझाव दिनुभयो ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा रिजन पाँचका चियर खेमबहादुर कार्की, क्लवका पूर्वअध्यक्ष बालकृष्ण अर्याल, कृष्णप्रसाद शर्मा, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका पूर्व अध्यक्ष अर्जुन गुरुङ, क्लवको स्पोन्सरमा गठित रोटरी क्लव अफ वालिङ स्याङ्जाका अध्यक्ष युवराज पाठक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्लवका सचिव निराजन पोखरेलको सञ्चालनमा भएको थियो ।