सरकारको असफलता छोप्न गभर्नरलाई कारवाही : एमाले

1.3K

सरकारको असफलता छोप्न गभर्नरलाई कारवाही : एमाले

सरकारले आफ्नो असफलता ढाक्न गभर्नरलाई कारवाही गरेको एमालेले आरोप लगाएको छ । प्रमुख प्रपितपक्षी दल नेकपा एमालेले आईतबार पत्रकार सम्मेलन गरेर सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी ढाक्नको लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाएको हो ।
सरकारले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गरेपछि एमालेबाट अर्थमन्त्री बनेका उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र नेता युवराज खतिवडाले संयुक्त पत्रकार सम्मेलन गरि गभर्नर माथिको कारवाही प्रायोजित भएको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माको दवावमा प्रधानमन्त्री शेरबहादुर देउवाले गलत निर्णय गरेको उनीहरुको आरोप छ । एमालेले भनेको छ–‘अराजक अर्थमन्त्रीको दबावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए । वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारवाही गरिएकोमा कुनै शंका छैन ।’
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जाँचबुझ गर्न समिति बनाएपछि गभर्नर अधिकारी निलम्बनमा पर्नुभएको थियो ।