स्थानीय निर्वाचन : नेकपा एकिकृत समाजवादीले माग्यो सबै पदमा उम्मेदवारको नाम

1.3K

स्थानीय निर्वाचन : नेकपा एकिकृत समाजवादीले माग्यो सबै पदमा उम्मेदवारको नाम

नेकपा एकिकृत समाजवादीले सबै पदमा उम्मेदवारको नाममा सिफासिर गर्न मातहतका कमिटिलाई निर्देशन गरेको छ । तर गठबन्धन गर्दा पार्टीले पाएको ठाउँमा मात्रै उम्मेद्वारी दिने निर्णय लिएको छ ।
पार्टीको शनिबार र आईतबार बसेको सचिवालय बैठकले उम्मेदवारको मापदण्ड तय गर्दै सिफारिस पक्रिया र समयतालिका पनि पास गरेको छ । जसअनुसार पार्टीको उम्मेदवार हुन पार्टीको नीति र कार्यक्रमप्रति प्रतिवद्ध, पार्टीमा योगदान र विद्रोहमा भूमिका खेलेको हुनुपर्नेछ । त्यस्तै अनुशासन र आर्थिक एवं नैतिक आचरण पनि ठिक हुनुपर्नेछ ।
त्यस्तै वडा समितिको सिफारिसमा वडा सदस्यको टुंगो पालिकाले लगाउने छ भने वडा अध्यक्षको वडा र पालिकाको सिफारिसमा जिल्ला कमिटिले टुंगो लगाउने छ । पालिका र जिल्लाको सिफारिसमा पालिकाका उम्मेदवारको टुंगो प्रदेश कमिटिले लगाउने छ । त्यसैगरी उपमहानगर तथा महानगरपालिकाको उम्मेदवारको पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले टुंगो लगाउने छ ।
त्यसैगरी वडा कमिटिले ३० चैतमा सिफारिस गरिसक्नुपर्नेछ । त्यस्तै पालिकाले २ बैशाख, जिल्लाले ४ बैशाख र प्रदेश कमिटिले ६ बैशाखमा सिफारिस गर्नुपर्नेछ । त्यसका आधारमा ८ बैशाखमा केन्द्रले निर्णय लिईसक्नेछ ।