स्थानीय तह निर्वाचन ऐनले नै स्थानीय तहको प्रमुख वा उपप्रमुखमा महिला उम्मेदवारी सुनिश्चत गरेको छ । तर राजनीतिक दलहरुले भने महिलालाई सजिलोसंग उम्मेद्वार बनाउन चाहदैनन् ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ । त्यसै अनुसार निर्वाचन आयोगले निर्वाचन तयारीको काम अगाडि बढाएको छ भने राजनीतिक दलहरुपनि उम्मेदवार छान्ने र चुनावको प्रचारप्रसार सुरु गरिसकेका छन् ।
दलहरुले उम्मेदवार छान्ने क्रममा रहेकाले उम्मेदवारीमा दावी गर्ने महिलाको संख्या कम छैन । तर दलहरु महिलाको दावेदारीलाई सामान्य रुपमा लिने गरेका छन् । स्थानीय निर्वाचन ऐनले नै महिला उम्मेद्वारी सुचिश्चित गरेकाले अघिल्लो निर्वाचनमा अधिकांश स्थानीय तहमा महिला उपप्रमुख निर्वाचित भएका हुन् । ऐनमा त्यस्तो व्यवस्था हुँदैन्थ्यो भने दलहरुले महिलालाई त्यति सजिलोसंग उम्मेदवार बनाउने थिएनन् ।
एमालेकी केन्द्रीय सदस्य समेत रहेकी बुटवल उपमहानगरपालिकाकी उपमेयर गूमादेवी आचार्यको आगामी निर्वाचनको लागि मेयरमा दावी छ । त्यस्तै एमालेबाटै बुटवलको मेयरका लागि केन्द्रीय सदस्य सावित्रा अर्यालको पनि आकाँक्षा छ । त्यस्तै तिलोत्तमा नगरपालिकामा पनि उपमेयर रहेकी जागेश्वरीदेवी चौधरी, देवी वाग्ले लगायतका महिला नेतृहरुले मेयरमा दावी गरेका छन् ।
पूर्व–पश्चिम र उत्तर–दक्षिणको संगम बुटवल उपमहानगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसमा पनि महिला आकाँक्षी उत्ति छन् । नेपाली काँग्रेसमा लामो सयदेखि राजनीति गर्दै आएकी महिला नेतृ महासमिति सदस्य बालकुमारी भण्डारी, विद्यार्थी राजनीतिबाट आएकी नेतृ जमुना ढकाल, सावित्रा टण्डन, रीता सेन, रीता केसी लगायतका नेतृहरुको बुटवल उपमहानगरपालिकाको मेयरमा आकाँक्षा छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रमा नेतृ मञ्जु भुसाललाई पार्टीले मेयरमा टिकट नदिने बुझेपछि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँले पार्टीको बुटवलमा नेतृत्व दावी गरिरहनु भएको थियो । पार्टीको नेतृत्व समेत पाउन नसकेपछि उहाँ पार्टी परित्याग गर्नुभएको हो ।
एउटा मात्रै दलमा होईन, सबै दलमा महिलाको अवस्था उस्तै हो । गत स्थानीय तहको निर्वाचनमा पनि काँग्रेस र माओवादी केन्द्र मिलेको थियो । जसका कारण मेयरमा दावी गरिरहेका महिलाहरु उपमेयरमा समेत समिटिन सकेनन् । काँग्रेसले मेयरमा खेलराज पाण्डेलाई उठायो भने माओवादी केन्द्रले उपमेयरमा जगतबहादुर पोखरेललाई । जसका कारण मेयर उपमेयरमा दावी गरेका महिला नेतृहरु मन अमिलो बनाएर चुनावमा खटिनु परेको तितो यथार्थ काँग्रेस नेतृ महासमिति सदस्य बालकुमार भण्डारीसंग छ ।
आगामी निर्वाचनको लागि पनि सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल हुँदैछ । यहि तालमेलका कारण पनि महिला नेतृहरु आफूहरु समेटिन नसक्नेमा प्रायः ढुक्क छन् । यद्यपी दावेदारी भने छाडेका छैनन् ।