देवदह १० मा डेढसय युवा काँग्रेसमा प्रवेश

158

देवदह १० मा डेढसय युवा काँग्रेसमा प्रवेश

रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० मा डेढसय युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार देवदहको चरंगेमा आयोजित वडा कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वराज्य मन्त्री अब्दुर रज्जाक, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं देवदहका मेयर हिराबहादुर खत्री लगायतका नेताहरुले पार्टी प्रवेश गराउनु भएको हो । उनीहरु एमाले लगायतका दल परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको बताईएको छ ।
कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य रज्जाकले मुलुकको सन्तुलित विकासको लागि नेपाली काँग्रेसको विकल्प नभएको बताउनु भयो । उहाँले पूर्ववर्ती सरकारले सन्तुलन विगारेका कारण अहिले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै त्यसको सुधार र मुलुकको विकासको लागि नेपाली काँग्रेसलाई जिताउनु पर्ने भनाई राख्नुभयो ।

त्यस्तै काँग्रेस क्षेत्र नं. १ का सभापति तथा देवदहका मेयर खत्रीले पूर्ववर्ती सरकारको झण्डै साढे ३ वर्षको कार्यकालमा उसको बदनीयतपूण भूमिकाकै कारण दुई वर्षमा बनाउनु पर्ने ऐन तथा कानुनहरु नबनाएको र संविधानमै प्रत्यायोजन गरिएको प्रदेश तथा स्थानीय तहका एकल निर्णयका अधिकार समेत नदिएकाले विकासमा काममा समेत प्रभाव परेको भनाई राख्नुभयो ।
काँग्रेस देवदह वडा नं. १० की वडा सभापति रेनुका आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सहसचिव बासुदेव रिमाल, देवदह नगर समितिका सभापति गुणाखर भुर्तेल लगायतले भनाई राख्नुभएको थियो ।