निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाही हुन्छ : निर्वाचन आयुक्त जवरा

226

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाही हुन्छ : निर्वाचन आयुक्त जवरा

निर्वाचन आयोगले नैतिक र कानुनी रुपमा पनि जिम्मेवार बनाउने गरी निर्वाचन आचार संहिता ल्याएको बताउँदै आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउने बताएको छ ।
स्थानीय तह निर्वाचन–२०७९ को सम्बन्धमा शनिबार रुपन्देहीको तिलोत्तमामा आयोगले आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा निर्वाचन आयुक्त सगुन समसेर जवराले सबैलाई आचारसंहिता पालनाको लागि आग्रह गर्नुभयो । आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले पत्रकार र सञ्चारगृहलाई पनि आचारसंहिता पालना गरेर काम गर्न आग्रह गर्नुभयो ।
नागरिकले सबैभन्दा बढी मिडियाप्रति विश्वास गरेको बताउँदै गरेको बताउँदै त्यसलाई अझ बढी विस्वस्त बनाउन आग्रह गर्नुभयो । उहाँले आयोगले आचार संहिता उल्लंघन भएनभएको अध्ययनको लागि छुट्टै टिम बनाएको र सामाजिक सञ्जालका माध्यमबाट हुने आचारसंहिता उल्लंघनको अध्ययन गर्नको लागि नेपाल प्रहरीकै कमाण्डमा साईवर सेल बनाईएको जानकारी गराउनु भयो ।
निर्वाचन आयोगका कानुन सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताउनु भयो ।

सूचना आयोगका पूर्व आयुक्त यशोदा तिम्सिना र नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालले क्रमशः निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणात्मक अभिव्यक्तिको रोकथाम, निर्वाचनसंग सम्बन्धित समाचार संकलन र रिपोर्टिङ सम्बन्धि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले निर्वाचन तोकिएकै मितिमा हुँदैन भन्ने भ्रम चिर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै सहि सूचना समयमै दिनेगरी वातावरण मिलाउन आयोगलाई आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले व्यवसायिक पत्रकारबाट आचारसंहिता उल्लंघनका घटना कम हुने र आचारसंहिता उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदा पनि आचारसंहित उल्लंघनमा न्यूनिकरण हुने बताउनु भयो ।