काँग्रेसका नेता कार्यकर्तालाई गृहमन्त्री खाँणले भने : गठबन्धनको निर्णय नमाने कारवाही हुन्छ

1.3K

काँग्रेसका नेता कार्यकर्तालाई गृहमन्त्री खाँणले भने : गठबन्धनको निर्णय नमाने कारवाही हुन्छ

गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीले गरेको गठबन्धनको निर्णय नमान्ने पार्टी नेता कार्यकर्तालाई कारवाही हुने बताउनु भएको छ । संसद विघटन विरुद्ध गठबन्धन बनेको र गठबन्धनका लागि काँग्रेस प्रतिवद्ध रहेको बताउँदै गठबन्धन विरुद्ध जाने नेता कार्यकर्तालाई पार्टीले कारवाही गर्ने उहाँले बताउनु भयो ।
रुपन्देहीको तिलोत्तमा स्थित आफ्नै निवासमा बुधबार पत्रकारहरुसंग कुरा गर्दै उहाँले आसन्न स्थानीय निर्वाचनका लागि सत्तारुढ दलहरु बिच पार्टीको केन्द्रीय समितिले चुनावी तालमेलको निर्णय गरेकाले त्यसका विरुद्ध जाने नेता कार्यकर्तालाई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने उहाँको भनाई छ ।
गृहमन्त्री खाँणले निर्वाचनमा सहभागि नभएका दलहरुलाई स्थानीय निर्वाचनमा भाग लिन आह्वान गर्नुभयो । उहाँले ती दलहरुसंग सरकार निरन्तर संवादमा रहेको पनि जानकारी गराउनु भयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सुरक्षाको समुचित प्रवन्ध गरिएको बताउनु भयो । उहाँका अनुसार निर्वाचनको समयमा स्थलमार्ग सहित हवाई गस्ती समेत गरिने छ । आसन्न स्थानीय निर्वाचन एकै चरणमा एकै दिन गर्न लागिएकोले सुरक्षालाई मजबुद बनाउनको लागि नेपाली सेना र नीजि व्यवसायीका हेलिकप्टर समेत लिएर हवाई गस्ती गरिने उहाँले बताउनु भएको हो ।
निर्वाचनमा सुरक्षा संयन्त्रलाई मजबुद बनाउनको लागि प्रहरी, ससस्त्र पहरी, नेपाली सेना सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउँदै निर्वाचनमा सबैलाई मर्यादित भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो ।
सरकारको निर्णयका आधारमा निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुनःबहाली गर्ने सर्बोच्चको निर्णयको सरकारले सम्मान गर्ने उहाँको भनाई छ ।